महाराष्ट्र रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो  

४ जनाको दाहसंस्कार भारतमै, ३ जनाको शव नेपाल ल्याइयो  

माघ ११, २०८१

कान्तिपुर संवाददाता

The bodies of the Maharashtra train accident victims were handed over to their relatives

काठमाडौँ — भारतमा रेल दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव आफन्तजनको जिम्मा लगाइएको छ । भारतीय रेल्वेले मृतकहरूको शवलाई उनका आफन्तजनले चाहेको स्थानसम्म पुर्‍याएको छ । 

दिल्लीस्थित नेपाली दूतावासले त्यसका लागि समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माका अनुसार मृतक ७ जना नेपाली नागरिकमध्ये ४ जनाको दाहसंस्कार उनका परिवारजनले भारतमै गरेका छन् । ३ जनालाई नेपाल पठाइएको उनले बताए । 

दुर्घट्नामा ज्यान गुमाएकी कैलालीका कमला नवीन भण्डारीका छोरा टपेन्द्रले घट्नास्थलबाट एम्बुलेन्समा आमाको शव घर ल्याउन लागेको बताए । एम्बुलेन्सको व्यवस्था भारतीय रेल्वेले गरेको छ । आफन्तजनले चाहेका स्थानसम्म मृतकको शवलाई पठाइएको एसएसपी शर्माले जानकारी दिए । 

शव जिम्मा लगाएसँगै काजकिरियाका लागि रेल्वेले प्रत मृतक ५० हजार रुपैयाँ भारु नगदै आपन्तलाई दिएको छ । केन्द्र र प्रदेश सरकारले गरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । एसएसपी शर्माले राहतको बाँकी रकम पनि मृतकका परिवारले पाउने बताए । यस विषयमा भारतीय पक्षसँग लागातार संवाद भइरहेको उनले जनाएका छन् । 

लखनऊबाट मुम्बई गइरहेको पुष्पक एक्सप्रेसमा बुधबार साँझ आगलागीको हल्ला फैलिएपछि त्यसमा रहेका यात्रुले चेन तानेर रेललाई रोकाएका थिए । डराएका यात्रुहरू रेल रोकिनासाथ धमाधम त्यहाँबाट हाम्फालेका थिए । त्यहीबेला अर्को लिकमा आइरहेको कर्नाटक एक्सप्रेसको चपेटमा हामफालेका कतिपय यात्रु परेका थिए । कर्नाटक एक्सप्रेसले किचिएर १२ जना यात्रुको निधन भएको थियो । त्यसमध्ये ७ नेपाली हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, लछिराम पासी अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा र ४२ वर्षीया मौसारा कामी विश्वकर्माको निधन भएको हो । त्यस्तै, अछामकै ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय रोश्याम राधको मृत्यु भएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully