‘यहाँको बासस्थान यिनीहरूलाई उपयुक्त भएर नै रमाइराखेको अवस्था छ, चितवनमा बस्दा र यहाँ बस्दाखेरी खासै धेरै भिन्नता देखिएन, सहजै ‘एडप्ट’ भैदिए ।’- वीरेन्द्र गौतम, कोशी संरक्षण केन्द्र
कोशी टप्पु, सुनसरी — हिउँदे घाम बिहानैदेखि पर-परसम्म फैलिएको थियो । तैपनि राति शीत परेका घाँसपात ओभाइसकेका थिएनन् । पुष्पा र अञ्जलीलाई घाँस चर्न कुनै पर्वाहै थिएन । पेट अघाउन्जेल चर्ने, पानी खाने अनि आराम गर्ने बिहानीको दैनिकीअनुसार खडेरीले सुकेका घाँसभित्र हरिया मुना सिला पार्नमै ध्यानमग्न थिए ।
यो दृश्य पुस दोस्रो साता कोशी टप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टर पुग्दाको हो । पथरी सेक्टर महेन्द्र राजमार्गनेर पर्ने सप्तरीस्थित कंकालिनी मन्दिरदेखि १२ किमि उत्तरपश्चिमपट्टि त्रियुगा नदीको किनारमा पर्छ ।
आरक्षभित्रको तीन हेक्टर क्षेत्रफलको इन्क्लोजर (ठूलो खोर) मा वन्यजन्तु प्राविधिक दुर्गानन्द यादव पुष्पा र अञ्जलीको रखवारी गरिराखेका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार तारजालीले घेरिएको इन्क्लोजरभित्र राति थुन्ने बुमा (खोर), चरन क्षेत्र/घाँसेमैदान, पानी खानका लागि कलधारा, पोखरीलगायतको व्यवस्था गरिएको छ । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पुमा पुष्पा र अञ्जलीलाई स्थानान्तरण गरेदेखि दुर्गाले साथ छोडेका छैनन् । बिहान खोरदेखि खोलेदेखि बेलुकी खोरमा नहुलुन्जेलसम्म उनैले रेखदेख गर्छन् ।
अहिले जाडो सिजन भएकाले बिहान ६ बजेतिर खोरबाट खोलिदिन्छन् । दुवै गैंडा चर्न निस्कन्छन् । गर्मी सिजनमा भए पाँचै बजे खोल्छन् । पुष्पा र अञ्जली चर्न निस्किएको एक डेढ घण्टा दुर्गा पनि सँगसँगै हिँड्छन् । ‘राम्ररी चरिराखेको छ कि छैन, स्वास्थ्य अवस्था, आनीबानी कस्तो छ भनेर हेर्नको लागि म पनि सँगै निस्कनुपर्छ,’ उनले भने । बिहान ८/९ बजेसम्म चरेर पानी खान कल धारातिर आउँछन् । पानी खानका लागि ठूला भाँडामा पानी थापिदिइएको हुन्छ । पोखरी पनि छन् । त्यसपछि दुई घण्टा आराम गर्छन् । आराम गरेर उठेपछि फेरि पानी खुवाउँछन्, नुहाइदिन्छन् । यसपछि पुनः चउरमा चर्न पुग्छन् । त्यसपछि आधा/एकघण्टा पोखरीमा आहाल खेल्छन् । त्यहाँबाट उठेर चर्छन् । साँझ परेपछि दुर्गाले दुवै गैंडालाई नामबाटै बोलाएर खोरसम्म ल्याएर थुनिदिन्छन् । बेलुकी खोरमा बस्दा खानलाई पिपल, खयर, कदम, स्वामीलगायतको डाले घाँस राखिदिएका हुन्छन् ।
चितवनको तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ हुन पुगेको स्थितिमा पुष्पा र अञ्जलीलाई उद्धार गरेर हुर्काइएको थियो । कोशी टप्पुमा आएदेखि पुष्पा र अञ्जलीको यो दैनिकीमा दुर्गा पनि मिसिएका छन् । हात्तीको माहुत गरिरहेका उनले यसअघि कहिल्यै पनि गैंडालाई प्रत्यक्ष रूपमा हेर्न पाएका थिएनन् । चितवनबाट ल्याएपछि गैंडाको हेरचाह गर्ने जिम्मा उनैलाई दिइयो । सुरुमा उनी डराएका थिए किनभने न उनलाई आनीबानी थाहा थियो न त गैंडाले नै उनलाई चिन्थे । गैंडाको स्वभाव थाहा नपाइ नजिक जाँदा दुई तीन पल्ट हान्न खोजेको थियो ।
‘मैले एकैपटक गैँडा हेरेको यही ल्याएपछि हो, त्यसअघि मैले कहिल्यै देखेको थिएन, पहिला डर लाग्थ्यो, टाढै बस्थे,’ उनले भने, ‘चितवनबाटै आउनुभएको दाइले विस्तारै विस्तारै नजिक जानु, बिहानै बिहानै खोरबाट निस्कने बेलामा फलफूल दिनु भनेर सिकाउनु भयो, अहिले सबै हेरविचार मैले नै गर्छु ।’ चितवनबाट पुष्पा र अञ्जलीलाई ल्याउँदा आएका जैविक विविधता संरक्षण केन्द्रबाट गैंडा लिएर आएका वन्यजन्तु प्राविधिक लालबहादुर महतराले एक महिनासम्म कोशी टप्पुमै बसेर हेरचाह गरेका थिए । उनैबाट दुर्गाले गैंडाको आनीबानी चालचलन सिके । पुष्पा र अञ्जलीले कस्तो वातावरण रुचाउँछन्, खुसी र रिसलाई कसरी व्यक्त गर्छन् भन्ने आनीबानीसँग नजिकिएका छन् उनी ।
दुर्गा भन्छन्, ‘पुष्पा र अञ्जली कोशी टप्पुको वातावरणसँग घुलमिल भइसकेका छन् । मजाले खाने, बस्ने गर्छन् ।’ पहिलेको भन्दा हृष्टपुष्ट देखिन थालेका छन् । ‘५.५ वर्षकी पुष्पा र ४.५ वर्षकी अञ्जली ठ्याक्कै दिदीबहिनीजस्तै सँगै हुन्छन्, सँगै चर्छन्, सँगै डुल्छन्, सँगै रमाउँछन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले थपे ।
उनीहरू खुसी छन् भने जतासुकै बोलाए पनि आउँछन् । नामले बोलाए पनि हातको इशाराले बोलाए पनि दुर्गाले बोलाएतिरै पुग्छन् । मजाले चर्छन् । रिसाएका छन् भने आँखा रातो पार्ने, एकअर्काको जिउमा चढ्ने, टोक्ने, माटो टोक्ने, नाक बजाउने, दौडने, इक्लोजरबाहिर जाने गर्छन् । रिसाएका छन् भने मान्छेलाई आक्रमण गर्ने सम्भावना हुने हुँदा टाढै रहनुपर्छ । टाढैबाट हल्ला गर्ने, धपाउने गर्नुपर्छ । खडेरी लागेर चौरमा घाँस सुकेपछि बाहिर निस्कने भएकाले दुर्गाले डाले घाँस देखाउँदै फर्काएर भित्रै ल्याउने गर्छन् ।
पुष्पा र अञ्जलीलाई गत वर्ष असोज १० गते विश्व पर्यटन दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्जबाट यता ल्याइएको थियो । तीन वर्ष पहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिको अध्ययनले कोशी टप्पुमा गैंडाका लागि उपयुक्त वातावरण रहेको सिफारिस गरेपछि चितवनबाट स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका दुवै कोशी टप्पुको वातावरणसँग घुलमिल भएकाले अब गैंडाको वंश विस्तार गर्दै यहाँको पर्यापर्यटन र आरक्षको विकास गर्ने उद्देश्य राखिएको गौतमले बताए । ‘यहाँको बासस्थान यिनीहरूलाई उपयुक्त भएर नै रमाइराखेको अवस्था छ, चितवनमा बस्दा र यहाँ बस्दाखेरी खासै धेरै भिन्नता देखिएन, सहजै ‘एडप्ट’ भैदिए,’ उनले भने ।
पुष्पा र अञ्जलीलाई इन्क्लोजरमा राखिएको भए पनि बेलाबेला कोशी टप्पुको जंगलमा विचरण गर्न हात्तीसँगै लैजाने गरिएको छ । हात्तीसँगै जंगल उनीहरू जंगलमा जाँदा निकै रमाउने गरेको गौतमले बताए । बाहिर असुरक्षित हुने सम्भावना रहेकाले बेलुकी इन्क्लोजरमा नै ल्याएर राख्ने गरिएको छ । संख्या विस्तार गर्दै जंगलमा खुला रूपमै छोड्नै जाने वन तथा वातावरण मन्त्रालयकोकै योजनाअनुरूप काम भइरहेको बताए । ‘कोशी टप्पु आरक्षमा अर्नामात्रै हेर्न पाइन्छ भन्ने थियो भने अब गैंडा पनि देख्न पाइन्छ भन्नका लागि वंश विस्तार गर्दै जाने हो,’ उनले भने, ‘गैंडा फरक प्रजातिको भएपछि आरक्षको विकास, पर्या–पर्यटनमा पनि टेवा पुग्ने भएको हुनाले सरकारकै निर्णयअनुसार हामी अगाडि बढिराखेको हो ।’
गैंडालाई जंगलमा छोड्नका लागि दुई चरणको सुरक्षा उपाय अपनाएर गैंडा संरक्षण क्षेत्रकै रूपमा विकास गर्ने योजना छ । एक/डेढ वर्ग किमिको क्षेत्रफलमा बसिरहेका गैंडालाई पहिलो चरणमा चार वर्ग किमिको क्षेत्रफलमा र दोस्रो चरणमा १६ वर्ग किमिको क्षेत्रफलमा छोड्नेगरी यही महिनादेखि सुरक्षा संरचना बनाउने तयारी भइरहेको छ । पहिलो चरणको संरचना बनाउन चार-पाँच महिना लाग्न सक्ने गौतमले बताए ।
पुष्पा र अञ्जलीलाई कोशी ल्याइएको ६ महिनापछि वंश विस्तार गर्नका लागि चितवनबाट मेघौली नाम गरेको भाले गैंडा लगेर इन्क्लोजरमा छोडिएको थियो । तर, उक्त गैंडा जंगलभन्दा पनि बजार बस्तीतिर डुल्ने बानी परेको र खानपान पनि नखाइदिएपछि बिरामी हुने जोखिम बढेकाले केही दिनमै चितवन फकाइएको थियो । पुष्पा र अञ्जलीमा वंश विस्तार गर्ने ‘म्याचुरिटी’ देखिन थालेकाले भाले गैंडा ल्याउनुपर्ने भएको गौतमले बताए ।
जंगली भैंसी अर्नाको राजधानी मानिने कोशी टप्पुमा गैंडा ल्याइएको थाहा पाएदेखि आन्तरिक पर्यटक दिनहुँ हेर्न आउने गरेका छन् । यसले स्थानीय स्तरमा खाना, खाजा पसल खुल्दा रोजगारी सिर्जना भएको छ । पथरी सेक्टरमा होमस्टेहरूको पनि विकास गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष अर्ना संरक्षणका लागि २०३२ सालमा स्थापना गरिएको थियो । आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको छ ।
