करिब १ सय हेक्टर वन क्षेत्रमा आगो, बस्तीमा छैन जोखिम
काभ्रे — मध्य हिउँदमै काभ्रेको महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ । मंगलबार दिउँसो २ बजेको समयबाट खानीखोला गाउँपालिका-१ को थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार सामुदायिक वनमा लागेको डढेलो बारे खबर प्राप्त भए लगत्तै प्रहरी चौकी फलामेटारबाट खटिएको टोली, सुरक्षा निकाय, वन डिभिजन कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधिलगायतले डढेलो निभाउन प्रयास गरिरहेका छन् ।
भीर भएको वन क्षेत्रमा आगलागी भएका कारण तत्काल आगो निभाउन सकिएको छैन । आगलागी भएको वन क्षेत्रमा सेना र प्रहरीको टोली परिचालति भए पनि तत्काल आगो निभाउन सम्भव नभएको उनले बताइन् ।
उक्त आगो गाउँ बस्तीबाट अन्दाजी ४ किलोमिटर उत्तर टाढा पर्ने, हालसम्म मानवीय तथा चौपायको क्षति नभएको जानकारी प्राप्त भएको उनले जानकारी दिइन् । उनका अनुसार वनमा लागेको आगो मानवबस्तीसम्म आउन नदिनका लागि सुरक्षाकर्मीले अनुगमन गरिरहेको र जोखिम देखिए तत्काल स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ ।
खानीखोला गाउँपालिकाको थामलेख डाँडाबाट सुरु भएको आगलागी अहिले बेथानचोक गाउँपालिका ५, ३, १ र २ को सिमा क्षेत्रमा समेत आइपुगेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । घना जंगलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाई भएको उनले बताए ।
काभ्रेको पर्यटकीय स्थल बेथानचोक गाउँपालिका ३ स्थित नारायणस्थानमा यात्रा नगर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ । आगो हाल बेथानचोक १, २, ३ र ५ को सिमा क्षेत्रसम्म पनि फैलिएकाले आगजनीको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै धार्मिक एवं पर्यटकीय स्थल नारायणस्थानमा यात्रा नगर्न आग्रह गरेको हो ।
करिब १ सय हेक्टर क्षेत्रफलमा आगो
डिभिजन वन कार्यालय काभ्रेका प्रमुख कृष्णबहादुर थापाका अनुसार माघ ८ गते थामलेख डाँडा स्थित महाभारत सामुदायिक वनको दक्षिण भेगबाट आगोलागी सुरु भएर अहिले उत्तरी भेगतर्फ आइपुगेको देखिएको छ । उत्तरी भेग अलि चिसो र असिलो भएकाले वनमा आगो अलि कम भएको भन्ने घटनास्थलमा रहेका कर्मचारी जानकारी दिएको उनले बताए ।
उनका अनुसार हावाहुरी लागिरहेकाले आगो अझै फैलने सक्ने जोखिम पनि देखिएको छ । मंगलबारबाट सुरु आगलागीबाट हालसम्म उक्त सामुदायिक वनमा अन्दाजी १ सय हेक्टर क्षेत्रफलमा आगजनी भएको अनुमान भएको उनले जानकारी दिए । सामुदायिक वनमा लागेको आगोबाट कति क्षति भयो भन्ने विषयमा हालसम्म यकिन विवरण आउन नसकेको उनको भनाई छ ।
महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न बिहीबार डिभिजन वन कार्यालय काभ्रेमा बसेको सुरक्षा प्रमुखहरूको बैठकमा आगलागी नियन्त्रण गर्नका लागि अपनाइने विभिन्न उपाय बारेमा छलफल भएको थियो । बैठकले वनको आगो बस्तीसम्म आउन नदिनका लागि वन डढेलोको प्रकोपबाट मानववस्ती जोगाउन स्थानीय समूहलाई परिचालन गरि ‘फायर लाईन’ बनाउने, अग्नी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा वन कार्यालयबाट थप कर्मचारी परिचालन गर्ने, अग्नि नियन्त्रण गर्न सञ्चारमाध्यमबाट प्रचार–प्रसारका सामाग्री सम्प्रेषण गर्नेसहित ८ बुदें निर्णय गरेको छ ।
