देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : सीके राउत

माघ १०, २०८१

कान्तिपुर संवाददाता

There is a conspiracy to impose a two-party system in the country: CK Raut

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताउँदै उनले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताए । दुई वटा विपरीत धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताउँदै उनले भने,  ‘मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दलहरु आपसमा मिलेर सरकार बनाएका छन् ।’

उनले दुई ठूला दल मिलेर बनेको सरकारले ऐनहरु संशोधन गर्न भइरहेको काम उल्लेख गर्दै यसलाइ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्रको रूपमा व्याख्या गरे । उनले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताउँदै भने,  ‘मधेस केन्द्रित दलहरु मात्रै होइन, ती दुई दलहरुबाहेक सबै दलहरु मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

कान्तिपुर

Link copied successfully