स्थानीय तहले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति

माघ १०, २०८१

कान्तिपुर संवाददाता

The local level should work with people and development at the center: President

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले भने, 'विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ ।'

उनले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गरे । राष्ट्रपति पौडेलले भने,  'गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भए नभएको बारेमा अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्छ, बजेटको सही सदुरुपयोग हुन्छ । यसबाट राष्ट्रको विकासमा योगदान दिन्छ ।'

उनले आफ्नो भूमिकालाई आफैँ क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवम् उपप्रमुखलाई आग्रह गरे ।  संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको जनाउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गरे । 

कान्तिपुर

Link copied successfully