काठमाडौँ — मधेशवादी दलका नेताहरूले ‘मधेशवाद’ का प्रवर्द्धक स्व.गजेन्द्रनारायण सिंहलाई उनको २४ औं स्मृति दिवसमा स्मरण गरेका छन् । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले उनको स्मृति दिवसमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेताहरूले दूरदर्शी र परिवर्तन चाहने नेताका रूपमा स्मरण गरेका छन् ।
नेपाल सदभावना पार्टीमा सिंहसँग लामो समय व्यतित गरेका नेता राजेन्द्र महतोले सिंहले दिएको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । ‘जतिबेला मधेशीले पनि आफूलाई मधेशी भन्न हिच्किचाउँथे, त्यतिबेला मधेशमा मधेशवादको प्रवेश गराउन सजिलो थिएन,’ उनले भने, ‘काठमाडौंले त स्विकारेकै थिएन । मधेशमा पनि गाह्रो थियो । त्यस्तो प्रतिकूल स्थितिमा गजेन्द्रबाबुले मधेशवादको विचारलाई स्थापित गर्नुभयो ।’
राज्यबाट उत्पीडनमा रहेकाहरू त्यहीबेला मिल्नुपर्ने विचार राखेर जनजाति आन्दोलनसँग उनले सहकार्य गर्ने प्रयास गरेको महतोले स्मरण गराए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष रहेका महतोले अधिकार प्राप्ति एक्लाएक्लै लडेर सम्भव नरहेको भन्दै उनले अधिकारवादी र पहिचानवादीबीच बृहत् मोर्चा बनाउनुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिंह क्रान्तिकारी स्वभावका नेता रहेको बताए । ‘उहाँ प्रजातान्त्रिक योद्धा र क्रान्तिकारी नेता हुनुहुन्थ्यो,’ उनले सम्झिए ‘जनमत संग्रहमा बहुदलको पक्षमा हामीसँगै थियौं ।’ विभिन्न आन्दोलनले देशमा धेरै परिवर्तनहरू आए पनि पृथ्वीनारायण शाहको पालादेखि नै कायम रहेको खस आर्यको सत्तामा प्रभुत्वमा कुनै परिवर्तन आउन नसकेको बताए । कार्यकारी निकाय, सेना र न्यायमा एउटै समुदायको बर्चस्व, उनीहरूकै भाषाको प्रभुत्व र ब्राम्हणवादी सोचमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । यही नियतिलाई स्विकारेर जानसक्ने कि संघर्षमा जाने आफूहरूका अगाडि दुईवटा बाटा रहेको उनले उल्लेख गरे ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले सिंहले आफ्नो विरासतका रूपमा मधेशवादलाई छाडेर गएको बताए । ‘राजनीतिमा मेरो प्रेरणाको स्रोत नै उहाँ हो । किताबमा गान्धीलाई पढ्नुभन्दा अगाडि मैले उहाँलाई बुझ्ने मौका पाएको थिए,’ उनले भने ‘उहाँले मधेशलाई एकसूत्रमा बाँध्ने प्रयास गर्नु भएको थियो । अहिले विभिन्न नाममा मधेश टुटेको छ ।’
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले मुद्दा र विचारमा अविचिलित रूपमा अडिग नेताका रूपमा सिंहलाई सम्झिए । त्रिपाठी पनि सिंहकै सामिप्यमा रहेका सद्भावना पार्टीबाट उदायका नेता मध्येका एक हुन् । उनले सम्पूर्ण मधेशलाई एक बनाउन पुनः एकपटक मधेशका शक्तिहरू एक हुनुपर्ने बताए ।
कार्यक्रमा जनता समाजवादी पार्टीका नेता एवं महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले संघीयताको मुद्दालाई सिंहले बलियो गरी उठाएको बताए । साहपनि सदभवाना पार्टीका पूर्व नेता हुन् । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले प्रजातन्त्र आएपछि सबै कुरा ठीक हुने आशा गरिए पनि त्यसो नहुनेमा सिंह उहीबेला सचेत देखिएको उल्लेख गरे । उनले सुकुम्वासीका नाममा पुनः जंगल सखाप पारेर मधेशमा पुनर्वासको तयारी गरिएको प्रति सचेत हुनुपर्ने बताए ।
