काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठनको नेतृत्व लिन अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्मा पक्षबीच चर्को प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति हुन नसकेपछि तीव्र प्रतिस्पर्धा चर्केको हो ।
संस्थापन पक्षले विजय सापकोटालाई अध्यक्षको उम्मेदवार बनाएको छ भने शर्मा पक्षले अध्यक्षमा हेमन्त राईलाई अघि सारेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट नेता उपदेश यादवले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षभित्र भने साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ । योगेन्द्रबहादुर बुढा, विश्वमणि थापा, सुदीन पौडेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
विगत केही समयदेखि दाहाल र शर्माबीच कहिले देखिने र कहिले नदेखिने गरी अन्तरसंघर्ष चर्किरहेका बेला विद्यार्थी संगठनको नेतृत्व चयन प्रक्रियामा पनि त्यो झलक स्पष्ट देखिएको हो ।
पछिल्लो केन्द्रीय पदाधिकारी बैठकमा दाहालले विद्यार्थीको सर्वसम्मत नेतृत्व चुन्न उचित हुने बताए पनि खुला प्रतिस्पर्धालाई रोक्न नहुने जनाएका थिए । पार्टीमा खुला प्रतिस्पर्धाको बहस चलिरहेका बेला विद्यार्थी संगठनमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने शर्माको अडान थियो ।
पछिल्लो केन्द्रीय समिति बैठकमा अन्तरसंघर्ष स्थगित गरी देशव्यापी अभियानमा जाने निर्णय गरेको माओवादीभित्र विद्यार्थी संगठनको नेतृत्वका लागि हुने निर्वाचनले दुई लाइन संघर्ष देखिएको छ । संस्थापन पक्षविरुद्ध शर्मा पक्षले पदाधिकारी तहमा अर्को प्यानल खडा गरेपछि माओवादीमा स्पष्ट दुई लाइन संघर्ष बल्झिएको छ ।
शर्माले २०८१ साउनमा पार्टी लोकतान्त्रिक नभएको, पार्टी निर्माण र नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै अध्यक्ष दाहालमाथि प्रश्न उठाएका थिए । त्यसपछि उनले उठाएका विषयलाई सातै प्रदेशमा परामर्श बैठक गरी छलफल भएको थियो । दाहाल र शर्माबीच पटक–पटक छलफल भएपछि पुस तेस्रो साता भएको केन्द्रीय समिति बैठकले अन्तरसंघर्षलाई थाती राख्दै हुलाकी, महेन्द्र र मध्यपहाडी राजमार्गमा राजनीतिक अभियान चलाउने निर्णय गरेको थियो । तर विद्यार्थी संगठनमा संस्थापन र शर्माको फरक–फरक प्यानल बनेपछि अन्तरसंघर्ष सतहमा आएको हो ।
माओवादी केन्द्रका एक नेताका अनुसार संस्थापन पक्षविरुद्ध शर्माले शक्ति प्रदर्शनकै शैलीमा उम्मेदवार बनाएका छन् । माओवादी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज हिमाल शर्माले विद्यार्थीहरू स्वतन्त्र रूपमा उम्मेदवार भएको उल्लेख गर्दै दुई वा तीन प्यानल नभएको दाबी गरे ।
‘विद्यार्थी नेताहरू स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दैछन्,’ उनले भने, ‘यो वा त्यो प्यानल घोषणा भएको छैन ।’ उम्मेदवार फिर्ता नलिंदासम्म सहमतिको प्रयास भने जारी रहने उनले बताए । तर अर्का विद्यार्थी नेताले संस्थापन र शर्मा पक्षले आफ्नो प्यानल (पदाधिकारी तह) मा जिताउन नेताहरू नै परिचालन गरेका छन् ।
तर अर्का विद्यार्थी नेताले संस्थापन र शर्मा पक्षले आफ्नो प्यानल (पदाधिकारी तह) मा जिताउन नेताहरू नै परिचालन गरेका छन् । ‘दुवै पक्ष आफ्ना उम्मेदवार जिताउन आन्तरिक तयारीमा छन्,’ ती नेताले भने, ‘यो एक प्रकारले शक्ति संघर्ष पनि हो ।
संस्थापन पक्षबाट महासचिवमा तिर्सना हमाल, रोशन खड्का, शिव बस्नेत र श्याम रोकाले उम्मेदवारी दिएका छन् । शर्मा पक्षले भने रोशन थापा मगरलाई महासचिवको उम्मेदवार बनाएको छ ।
अखिल क्रान्तिकारीको विधानअनुसार एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् ।
उपाध्यक्षका लागि दर्जन बढी उम्मेदवार भएका छन् । उपाध्यक्षमा लालबहादुर पाण्डे, अटल आचार्य, जीवन खड्का, ममता अधिकारी, समिप खरेल, तुलसीराम न्यौपाने, टंकप्रसाद उपाध्यया, सुबिन चासले, पार्वती नेगी, चित्र सुनार, बबिराज थापा, सन्दीप पुन, ज्ञानु खड्का, खेमबहादुर सिंह, मदन ढकाल, राजन पोखरेल, मुना थापा मगर, अभिमन्यू यादव र मनीषा आचार्य, कृष्णबहादुर सुनार, जनकबहादुर बटाला, आशिष वास्ताकोटी, राजीववरण न्यौपाने, पदम नेपाली, सुरजकुमार भण्डारी, मुना काप्री, बुद्रोस लिम्बू, उचित दास, सन्जीवकुमार चौधरी र रमेश आचार्यलगायतले उम्मेदवारी दिएका छन् ।
महासचिवमा संजयकुमार महतो, सन्जीब फुँयाल, गोविन्द बानियाँले पनि उम्मेदवारी दिएका छन् । अखिल (क्रान्तिकारी) को २ सय ४३ सदस्यीय नेतृत्वका लागि ५ सय उम्मेदवारी परेको छ । सबै उम्मेदवारी अनलाइन माध्यमबाट दिइएको थियो । अघिल्लो विधानअनुसार ३३ पदाधिकारी चयन हुनेछन् । नेतृत्वका लागि माघ १२ मा सातै प्रदेशका निर्वाचन केन्द्रमा मतदान हुनेछ ।
पुस १४ मा भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । त्यही मत परिणामअनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदैछ ।
