काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको लोकतन्त्रमा संघीयताको आवश्यक भएर संघीयताको स्थापना गरेको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा मुलुकको विशेषताको आधारमा संघीयता स्थापना गरिएको उनको भनाइ छ ।
‘यो संघीयतालाई हामीले कसरी बुझ्ने ? संघीयता नै सबै समस्याको जड हो भन्ने दृष्टिकोण वा संघीयता सबै समस्याको समाधान हुने जादुको छडी हुन् भन्ने दृष्टिकोण गलत छ,’ चौथो सत्र ‘संघीयता : भार कि अधिकार ?’ मा उनले भने, ‘ लोकतन्त्रमा संघीयता हुन पनि सक्छ वा नहुन पनि सक्छ । कुनै पनि देशको विशेषताको आधारमा लोकतन्त्रमा संघीयता आवश्यक छ कि छैन भनेर निर्णय गरिन्छ । हाम्रो नेपालको सन्दर्भमा नेपालको लोकतन्त्रमा संघीयता आवश्यक छ भनेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरेका हौँ ।’
असन्तुष्टि र द्वन्द्वहरूलाई सम्बोधन गर्न राज्यको पुनर्संरचना गर्ने क्रममा र नेपालमा विकासको प्रक्रियालाई समावेशी बनाउन संघीयता स्थापना गरिएको उनको भनाइ छ ।
