सिमेन्टको मूल्य बढ्नुमा नियत खराब छ : सांसद भट्टराई

माघ ९, २०८१

कान्तिपुर संवाददाता

The intention to increase the price of cement is bad: MP Bhattarai

काठमाडौँ — एमालेका सांसद योगेश भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसद भट्टराईले विकास निर्माणको सिजनमा मूल्यवृद्धि गरिनु संयोग मात्रै नभई नियत खराबका साथ गरिएको देखिएको बताए । भट्टराईले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्यवृद्धि भएको देखिएको बताए ।

उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरेका थिए । उनले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताए । व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्यवृद्धि स्वीकार्न नसकिने बताए । ‘हाम्रो नेपालमा अब ठेक्कापट्टा लाग्ने अलिकति निर्माणको काम सुरु हुने मौसम हो । अत्याधिक र सँगसँगै हामीले उत्पादन गरेको वस्तुले नेपालको थप अरु औद्योगिक वातावरणमा व्यावसायिक वातावरणमा कति मद्दत पुगेको छ । व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला पनि यही हो चिन्ताजनक कुरा हो यो स्वीकार्न सकिने छैन के थियो उत्पादन र स्वदेशी बजारको सुरक्षा त्यसैले राज्यको भूमिका कहाँनेर हुन्छ भन्नेकुरा बुझ्नुपर्छ,' भट्टराईले भने, 'उद्योगीहरूले नाफा लिने हो त्योभन्दा माथि जाने कुराचाहिँ राम्रो होइन भन्ने मलाई लाग्छ र अहिले जुन मूल्यवृद्धि भएको छ । त्यो मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै ?'

केही महिना पहिले चार सय रुपैयाँ रहेको सिमेन्टको बोराको मूल्य अहिले आठ सय नाघेको भट्टराईले बताए । '३५८ र ४५८ रुपैयाँबाट करिब साढे ७ सय र ८ सय रुपैयाँ पुग्ने भनेको देखिन्छ । त्यस्तै अब विद्युत‍्को मूल्य बढेको छ कि ? ढुवानीको मूल्य बढेको छ कि ? श्रमको मूल्य बढ्या छ कि ?,' उनले भने, 'त्यसो हो भने वस्तुको मूल्य बढ्नसक्छ । आजको हाम्रो जस्तो अर्थतन्त्रमा त्यो ठिकै कुरा हो भन्ने लाग्छ । त्यसो भएको हुनाले स्वाभाविक मान्न सकिँदैन र यसलाई तपाईहरूले पुनर्विचार गर्नैपर्छ । उद्योग व्यवसायीले पुनर्विचार गर्नैपर्छ ।’

भट्टराईले नेपालको आफ्नै कच्चा पदार्थमा मूलतः नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताए । उनले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully