आजै बयान सुरु हुने
बुटवल — रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दा जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार बिहान अदालत खुल्नासाथ १० बजे नै अदालत पुगेका थिए । उनी पुगे लगत्तै अदालतले उनलाई हाजिर गराएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका ८ सहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।
२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिक तर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।
सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा गितेन्द्रबाबु (जिबी) राईसहित पूरक अभियोजनका २२ सहित ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । ४२ जना मध्ये लामिछाने, छविलाल जोशीसहित ३३ जना फरार सूचीमा थिए ।
जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको बताए । लामिछाने १० बजे नै अदालतमा हाजिर भएपछि उनको मुद्दा पनि पेशीका लागि न्यायाधीशहरूको गोलाप्रथामा लगिएको थियो । बुधबार नै लामिछानेको बयान हुने र बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
लामिछानेको सचिवालय स्रोतका अनुसार काठमाडौंबाट बढीमा तिन जना वकिल आउने छन् । तर, को को आउने भन्ने अझै निश्चित भएको छैन ।
वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधबार नै भैरहवा आइपुगेका छन् । थप २ जना वकिल काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो । रुपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले बहस गर्ने सम्भावना छ ।
लामिछाने र पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको छ ।
उनी विरुद्ध असोज ५ गते पूरक जाहेरी परेको थियो । रवि लामिछाने सहकारी ठगी अभियोगमा कात्तिक २ गते पक्राउ परेका थिए । कास्की प्रहरी हिरासतमा रहेका उनलाई प्रहरीले कात्तिक २७ गते रुपन्देही ल्याएर तीन दिनसम्म बयान गराएको थियो । त्यसपछि उनी कास्की हिरासतमै पुर्याइएका थिए ।
तर, आइतबार दर्ता भएको मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीलेसमेत लामिछानेसहितलाई फरारको सूचीमा राखेको हो ।
रवि कास्की जिल्ला अदालतबाट पुस २५ गते ६५ लाख धरौटी बुझाएर छुटेका थिए । त्यसपछि उनी पुस २८ गते काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यहाँबाट ६० लाख धरौटी बुझाएर माघ २ गते छुटेका थिए ।
