गण्डकी अझै प्रभावशाली बन्ने सम्भावना देखेको छु : अध्यक्ष सिरोहिया

माघ ९, २०८१

कान्तिपुर संवाददाता

I have seen the possibility of Gandaki becoming more influential: President Sirohia

काठमाडौँ — सबै पक्षबाट हेर्दा गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने बलियो सम्भावना देखिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रममा सिरोहियाले यस्तो बताएका हुन् ।

‘गण्डकी पर्यटकीय मात्रै नभई उत्पादनका दृष्टिले पनि पोखरा औद्योगिक सहर हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा पोखरा अग्रणी बनेको छ भने मनाङ र मुस्ताङ जस्ता जिल्ला भौगोलिक रूपमा विकटसँगै पूर्वाधारमा कमजोर छन्,’ उनले भने, ‘हिमाली क्षेत्रमा मनग्गे सम्भावना भएको स्याउलगायत खेतीले प्रोत्साहन र बजार पाउन सकेका छैनन् । सार्वजनिक–निजी साझेदारीहरूलाई संस्थागत बनाउन र पर्यटन, उद्यम तथा कृषिबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारको योजना र निजी क्षेत्रको तत्परता अपरिहार्य छ ।’ 

गण्डकी अझै प्रभावशाली बन्ने सम्भावना देखिए पनि त्यसका लागि केही काम गर्नुपर्ने देखिन्छ । पर्यटन र कृषि, शिक्षा र स्वास्थ्य, उद्यम र पूर्वाधारमा गण्डकीको सम्भावनाको उच्चतम प्रयोग गर्न अझै धेरै बाँकी छ । पूर्ण सम्भावनाको खोजी र उपयोग, नीति निर्माण र कार्यान्वयन, पूर्वाधार विकास र पर्यटन अभ्यास तथा लगानी र रोजगारी प्रवर्द्धनमा जोड दिन र तपाईँहरूका मुद्दाको विषयमा छलफल गर्न एउटा साझा माध्यम भएर कान्तिपुर मिडिया ग्रुप ‘गन्तव्य गण्डकी’ लिएर यहाँ आइपुगेको पनि उनले बताए । 

संघीयताको कुरा गर्दा प्रदेशले केही कानुन बनायो, केही बनाउनै बाँकी छ । तर मूल मुद्दा संघले प्रदेशका लागि बनाउनुपर्ने कानुन नबनाएर संघीयता सकसमै रहेको उनले बताए ।

‘कतिपय कानुनका सन्दर्भमा प्रदेश अघिअघि, संघ पछिपछि पाउँछौ । मैले यहाँ भन्नै पर्छ गण्डकी प्रदेश सरकारले आम सञ्चार सम्बन्धी उदार कानुन बनाएर आफ्नो क्षमता समेत प्रदर्शन गरिसकेको छ । यस्ता अझै धेरै कानुन बनाउन बाँकी छ, त्यसको समेत आज यहाँ बहस होस भन्ने चाहान्छु,’ उनले भने, ‘यी बहसले गण्डकीको मात्रै नभएर समग्र मुलुककै विकास र अर्थतन्त्रको विस्तारका अवरोध के–के हुन् र ती अवरोध पन्छाउने उपायहरूसमेत पहिल्याउने काम गर्नेछन् भन्ने विश्वास लिएको छु ।’

त्यस कारण आज यो कार्यक्रममार्फत सडक पूर्वाधार निर्माणमा जोडिएका हरेक सरोकारवाला निकायलाई अनुरोध गर्न चाहन्छु, सडक जे–जस्तो छ, त्यसलाई नभत्काउनुस्, थप विस्तारका लागि भत्काउनुपरे भत्काइसकेपछि जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न उनले आग्रह गरे ।

‘यस सहरमा काठमाडौं, चितवन, भैरहवा जस्ता गन्तव्यबाट सहजै आवतजावत गर्न मिल्ने सडक पूर्वाधार बनाइदिनुहोस्। यहाँको अर्को प्रमुख मुद्दा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी हो,’ उनले भने, ‘ गण्डकीको थप उन्नतिको मार्ग पर्यटन र त्यसमा पनि यहाँको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनसँग जोडिएको छ । झन्डै साढे २५ अर्ब रुपैयाँलागतमा बनेको विमानस्थल सञ्चालनमा आएको दुई वर्षमा अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन ।’ 

अब कहिलेबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेसमेत निश्चित छैन । पोखरेलीहरूको अगुवाइ र समग्र गण्डकीका नागरिकको दबाबमा बनेको यो विमानस्थल सञ्चालनको विषय मुलुककै आर्थिक उन्नतिमा जोडिएकाले त्यसको वातावरण बनाउन सम्बद्ध सरोकारवाला निकाय सबैसमक्ष अपिल गर्दछु । किनभने गण्डकी आउन र हेर्न विश्व समुदाय नै लालायित रहेको उनले बताए । 

कान्तिपुर

Link copied successfully