स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आन्तरिक कार्यदल गठन

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Formation of an internal task force to implement the report of the health insurance reform recommendations task force

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् । उनले प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यावहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्यसमेत अघि बढाएका छन् ।

कार्यदलका सदस्यहरूमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख सरोज शर्मा, निर्देशक अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य-सचिव छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाएका हुन् ।

आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रूपमा सुधार अघि बढाउने प्रक्रिया अघि बढाएका हुन् । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषद‍्मा लैजाने मन्त्रालयको तयारी छ । यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकालमा लागू गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिनेछ । यसैगरी नीतिगत तथा अन्य सुधारका विषयका लागि समेत कार्यदलले आन्तरिक अवस्थाका आधारमा सुझाव दिनेछ ।

'स्वास्थ्य बिमामा सुधार भए मात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिन सक्छ भन्ने हाम्रो विश्वास छ,' मन्त्री पौडेलले भने, 'प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully