६ महिनामा १ खर्बको निर्यात, प्रशोधित तेलको हिस्सा २५ प्रतिशत 

निर्यात ३२ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ४.३८ प्रतिशतले वृद्धि

माघ ९, २०८१

राजु चौधरी

1 trillion export in 6 months, refined oil share 25 percent

काठमाडौँ — तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी र पाम तेलको निर्यात बढ्दा चालु आर्थिक वर्षको समग्र निर्यात व्यापार ३२ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएकामा तेलको हिस्सा २५.३२ प्रतिशत छ । 

भन्सार विभागका अनुसार २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोडको निर्यात भएको थियो । त्यति बेला ३ अर्ब ४५ करोडको तेल निर्यात भएको थियो । यो वर्ष भने ६ महिनामा २५ अर्ब २ करोडको खाने तेल (भटमास, सूर्यमुखी र पाम) निर्यात भएको छ ।

तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा बढाएको छ । त्यही कारण तेल उद्योगीले निर्यातलाई प्राथमिकता दिएका छन् । 

भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पनि पाउने गरेको नेपाल वनस्पति घिउतेल उद्योग संघका निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले बताए । ‘भारत र नेपालबीच भन्सार दर फरक छ । निर्यात गर्दा उद्योगीले केही सहुलियत पाएका छन्,’ उनले भने, ‘भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी हुन्छ । तर नेपालमा बिक्री गर्दा ९० देखि १ सय २० दिनसम्म उधारो हुन्छ । त्यही कारणले पनि निर्यातमै जोड हुन्छ ।’

विभागका अनुसार ६ महिनाको अवधिमा ४० अर्ब ८४ करोडको कच्चा तेल आयात भएको छ । कच्चा तेल अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात भएको हो । २०८०/८१ को पहिलो ६ महिनामा २२ अर्ब १९ करोडको कच्चा तेल आयात भएको थियो । अग्रवालका अनुसार कच्चा पदार्थ आयात गरेर निर्यात गर्दा करिब १ सय दिनको चक्र हुन्छ ।

‘तेस्रो मुलुकबाट कोलकाता हुँदै कच्चा पदार्थ ल्याएर रिफाइन गर्नुपर्छ । स्वदेशी मार्केट होस् या निर्यात, एक सय दिन लाग्छ,’ उनले भने, ‘सँगसँगै उद्योगीले मौज्दात पनि गर्नुपर्‍यो । त्यसैले आयातको तुलनामा निर्यात कम देखियो ।’ 

1 trillion export in 6 months, refined oil share 25 percent

मुलुकमा सूर्यमुखी, तोरी, भटमाससहितको तेल मासिक करिब २५ हजार टन खपत हुन्छ, जुन स्वदेशी उत्पादनले धान्दैन । तेलहन (भटमास, तोरी, आलस, सूर्यमुखी) मुलुकमा वार्षिक ३ लाख ८ हजार टन (कच्चा पदार्थ) उत्पादन हुन्छ । अपुग कच्चा पदार्थ उद्योगीले आयात गरेर स्थानीय बजार पठाउँछन् र निर्यात पनि गर्छन् ।

‘नेपालमा उत्पादित कच्चा पदार्थ स्थानीयस्तरमै खपत हुन्छ । ठूला उद्योगसम्म आइपुग्दैन,’ अग्रवालले भने, ‘ठूला उद्योगले सबै कच्चा पदार्थ आयात गर्छन् ।’ उनका अनुसार तेल उद्योगमा प्रत्यक्ष/अप्रत्यक्ष गरी करिब १५ हजार रोजगार छन् । 

व्यवसायीका अनुसार कोभिड महामारीताका तेलको भन्सार दर भारतमा ४२ प्रतिशत थियो, नेपालमा १० प्रतिशत मात्रै लाग्थ्यो । भारतमा भन्सार महँगो भएकै कारण नेपालबाट निर्यात बढेको थियो । सन् २०२२ मा भारतले भन्सार दर घटायो । तेल भारतमै सस्तो भएपछि नेपालबाट निर्यात घट्यो । गत भदौमा भारतले फेरि भन्सार दर बढाएपछि नेपालबाट निर्यात पुनः बढ्न थालेको हो ।

भारतले गत भदौ १९ बाट लागू हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको हो । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले भारतमा भन्सार बढेपछि व्यवसायी निर्यातमा केन्द्रित भएको बताए । ‘आयात र निर्यातको तथ्यांक हेर्दा आयात बढी नै देखिन्छ । उद्योगीहरूले मौज्दात पनि गरेका छन् । केही स्वदेशमा पनि खपत हुन्छ । तर बढी मात्रामा निर्यात नै गरेका छन्,’ उनले भने । 

भन्सार विभागका अनुसार ६ महिनामा १८ अर्ब ९१ करोडको भटमासको तेल निर्यात भएको छ । जबकि गत आर्थिक वर्षको ६ महिनामा ४१ करोडको मात्रै निर्यात भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ९८ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ, २०८०/८१ को सोही अवधिमा १४ करोडको मात्रै निर्यात भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १३ करोडको पाम तेल निर्यात भएको छ, गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९० करोडको निर्यात भएको थियो । 

‘निकासीको हिसाबले तेलको निर्यात बढ्नु ठिकै हो, तर यो नेपालमै उत्पादन भएको वस्तु होइन । तेस्रो मुलुकबाट आयातित यी वस्तु मूल्य अभिवृद्धि गरी पुनः निर्यात गरिन्छ,’ पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘नेपालकै कच्चा पदार्थमा निर्यात बढेको भए राम्रो हुन्थ्यो । यो एकनासको निर्यात पनि होइन, भारतमा भन्सार घट्दा निर्यात फेरि घट्छ ।’

निर्यातलाई दिगो बनाउन स्वदेशी उत्पादनमै जोड दिनुपर्ने उनले बताए । ‘सरकारले तुलनात्मक लाभका वस्तुको निर्यातमा जोड दिनुपर्छ, प्रतिस्पर्धी क्षमता भएका वस्तुमा जोड दिनुपर्छ, यसले रोजगारी पनि सिर्जना हुन्छ,’ उनले भने । निर्यात बढाउनकै लागि सरकारले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) पटकपटक परिमार्जन गरेको छ । तर त्यसबाट पनि निर्यातमा सन्तोषजनक परिणाम नदेखिएको ओझाले बताए । 

भन्सार विभागका अनुसार तेलबाहेक सेन्थेटिक यान, ऊनी गलैंचा कार्पेट, अलैंची, तयारी कपडालगायतको निर्यात पनि बढेको छ । ६ महिनामा ६ अर्ब ८६ करोडको सेन्थेटिक यान निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ५ अर्ब ७० करोडको सेन्थेटिक यान निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा पहिलो ६ महिनामा ऊनी गलैंचा कार्पेट ५ अर्ब २३ करोडको निर्यात भएकामा यो वर्ष त्यही अवधिमा ५ अर्ब ६१ करोडको निर्यात भएको छ । यो वर्ष ६ महिनामा ४ अर्ब ५६ करोडको अलैंची निर्यात भएको छ, गत वर्ष त्यही अवधिमा ३ अर्ब ९० करोडको अलैंची निर्यात भएको थियो ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले निर्यात बढ्दा बजारमा सकारात्मक सन्देश गएको बताए । यसबाट औद्योगिक उत्पादन निर्याततर्फ अग्रसर रहेकाले अर्थतन्त्र चलायमान हुन थालेको पुष्टि हुने बताए । ‘खाने तेल, फलामको निर्यात छँदै थियो, सिमेन्ट, प्लाइउडको निर्यात पनि बढेको छ,’ उनले भने, ‘बजारमा तरलताको अभाव हट्दै छ, अर्थतन्त्र विस्तारै चलायमान भइराखेको छ ।’ 

विभागका अनुसार ६ महिनामा ४ अर्ब ३८ करोडको तयारी कपडा निर्यात भएको छ । यो रकम गत वर्षभन्दा कम हो । २०८०/८१ को पहिलो ६ महिनामा ४ अर्ब ६७ करोडको तयारी कपडा निर्यात भएको थियो । यो वर्ष ६ महिनामा ४ अर्ब २४ करोडको प्लाइउड निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा ३ अर्ब ५३ करोडको निर्यात भएको थियो ।

गत वर्ष पहिलो ६ महिनामा ३ अर्ब ८० करोडको फलफूल जुस निर्यात भएकामा यो वर्ष ३ अर्ब ४५ करोडको निर्यात भएको छ । विभागका अनुसार यो वर्ष ६ महिनामा ३ अर्ब १६ करोडको चिया निर्यात भएको छ । गत वर्ष त्यही अवधिमा २ अर्ब १४ करोडको चिया निर्यात भएको थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले दिगो निर्यात जरुरी रहेको जनाए । अर्थतन्त्रले विस्तारै गति लिन थालेकाले अन्य वस्तुको निर्यात बढाउन वातावरण बनाउनुपर्ने उनले बताए । ‘समग्र निर्यात बढ्नुको मूल कारण तेल हो, भारतले भन्सार बढाएपछि नेपालबाट तेल निर्यात बढेको छ,’ अध्यक्ष अग्रवालले भने, ‘प्रतिस्पर्धी क्षमता भएका स्वदेशी वस्तुको निर्यात बढाउन सके दिगो हुन्छ ।’

आयात पनि बढ्यो

मुलुकको आयात व्यापार पनि ७ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोडको वस्तु आयात भएको छ । २०८०/८१ को सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोडको आयात भएको थियो । 

सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । ६ महिनामा ५४ अर्ब ३६ करोडको डिजेल, ३२ अर्ब १४ करोडको पेट्रोल, २९ अर्ब ७९ करोडको ग्यास आयात भएको तथ्यांक छ । यस्तै, २५ अर्ब ७१ करोडको शुद्ध फलाम, २२ अर्ब ९ करोडको तयारी कपडा, २१ अर्ब २१ करोडको एचआर सिट, १७ अर्ब ८४ करोडको मोबाइल फोन आयात भएको छ । व्यापार घाटा ६ महिनामा ४.३८ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ । २०८०/८१ को ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड थियो ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully