सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गर्छौँ : गृहमन्त्री लेखक 

माघ ८, २०८१

रासस

We will prepare a temporary and long-term plan to stop the cutting of Saptakoshi: Home Minister Lekhtar

उदयपुर (गाईघाट) — गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन् । 

'सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ,' गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो । तर स्थायी रूपमा कटान रोक्न मित्र राष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने मन्त्री लेखकले उल्लेख गरे ।

गृहमन्त्री लेखकले आज बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेका हुन् । तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए । उनीसँगै कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर-१ का सांसद नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए । 

बर्सेनि सप्तकाशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण यहाँ सयौँ परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगरप्रमुख  अशोक कार्कीले बताए । 'तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायी रूपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौँ,' उनले भने । गृहमन्त्री लेखकले आजै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको अनुगमन गरेको सांसद खड्काले बताए । 

रासस

Link copied successfully