जसरी पनि सत्तामा पुग्ने र राज्यसत्ता दोहन गर्ने राजनीतिक प्रवृत्ति दुर्भाग्य : भट्टराई

माघ ८, २०८१

हरिराम उप्रेती

The political trend of reaching power and exploiting state power by any means is unfortunate: Bhattarai

गोरखा — नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसरी पनि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने नेपालको राजनीतिक प्रवृत्ति दुर्भाग्य रेहेको बताएका छन् । 

मंगलबार गृहजिल्ला गोर्खा आएका भट्टराईले पत्रकारसँगको कुराकानीका क्रममा पुराना राजनीतिक दलसँग देश विकासको सोच नै नरहेको बताए । ‘जसरी पनि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने, ठेक्का पट्टा, कमिसनखोर गरेर पैसा जम्मा गर्ने त्यसले कार्यकर्ता पाल्ने, चुनावी खर्च उठाउने, राजनीति त्यस्तो धन्दा बन्न पुग्यो, दुर्भाग्य कुरा त्यो हो,’ उनले भने,‘पुरानो राजनीति शक्ति र नेता पालैपालो सत्तामा बसिरहनुभएको छ, उहाँहरुको कुनै विश्वसनियता पनि छैन, देश विकासको सोच पनि छैन, त्यसैले जनताले विकल्प खोजेका हुन् ।’ 

पुरानो ढंगको राजनीतिक र नेताको नेतृत्व शैलीले देश संकटतिर होमिदै गएको उनको आरोप छ । ‘प्राप्त उपलब्धिलाई जोगाएर अगाडि जाने विकल्प दिनुपर्छ भन्ने हो,’ उनले भने । 

निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषय आफूले पटकपटक उठाउँदै आएको उनले बताए । ‘सरकारबाट बाहिर जाँदा मलाई फ्याँकीदिए, म आएपछि ठीक गर्छु भन्ने तर्क भएको छ,’ उनले भने,‘दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन्, म धेरै अपेक्षा त गर्दिनँ, फेरि त्यसको विकल्प के त, फेरि साना दलले सरकार बनाउने ?’ 

गत वर्षबाटै मुख्य तीन दलका शीर्ष नेतालाई भेटेर राष्ट्रिय सरकार बनाउन सुझाव दिएको उनले बताए । शान्ति प्रक्रिया पूरा गर्न, आर्थिक व्यवस्थापनको योजना ल्याएर युवालाई स्वदेशमा रोक्नका लागि राष्ट्रिय सरकार बनाएर अघि बढ्न आफूले सुझाव दिएको उनले बताए ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully