विवाद चर्केपछि पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्षमा मनोनीत गर्ने तयारी अन्तिम समयमा स्थगित

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा जे पनि सहन्छु भनेर आउनुपर्ने हुन्छ । गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पनि तयार हुनुपर्छ : सचिव राम कार्की

माघ ८, २०८१

गंगा बीसी

After the controversy flared up, former Vice President Punalai The preparations to nominate the Maoist vice-president were postponed at the last moment

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन खोजेपछि माओवादी पार्टीभित्र प्रश्न उठेको छ । सम्मानित पदमा पुगिसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा गलत सन्देश जाने भन्दै माओवादी नेताहरूले प्रश्न गरेका हुन् ।

पुस अन्तिम साताको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु पार्टीको मात्र विषय नभएको भन्दै यसले राष्ट्रपति र उपराष्ट्रपति पद मुलुककै सम्मानित पद भएको बताएका थिए ।

‘सम्मानित पदमा पुगेका व्यक्ति सक्रिय राजनीतिमा आउनु पार्टीभित्रको विषय मात्र होइन,’ उनले भने, ‘यो राष्ट्रिय पद र प्रतिष्ठानको विषय हो । राष्ट्रपति, उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु गलत हुन्छ ।’ सोही स्थायी समिति बैठकमा अञ्जना विशंखेले पूर्वउपराष्ट्रपति पुन पार्टी राजनीतिमा आउन लागेको सन्दर्भमा प्रश्न उठाएकी थिइन् ।

पुस अन्तिम साता सकिएको केन्द्रीय समिति बैठकमा पनि यो विषय उठेको थियो । नेताहरू सुदन किराँती, इन्द्र आङ्बो, लेखनाथ न्यौपाने, कुलप्रसाद साम्बालगायत आधा दर्जन नेताहरूले पूर्वउपराष्ट्रपतिलाई सम्मानित अवस्थामै रहनु उचित हुने भन्दै सक्रिय राजनीतिमा आउन नहुने बताएका थिए ।

केन्द्रीय समिति बैठकमा उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउनेबारे प्रश्न उठेपछि हाल उनको सक्रिय राजनीतिको यात्रा रोकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा नियुक्त गर्ने तयारी गरे पनि विवाद भएपछि हाल स्थगित भएको छ । नेताहरूले पार्टी विधानलाई मिचेर पूर्वउपराष्ट्रपति पुनलाई मनोनीत गर्न नहुने धारणा राखेका थिए । २०८० फागुनको विधान सम्मेलनले नयाँ विधान पारित गरेको थियो । अध्यक्षले आफूले मन परेको व्यक्तिलाई विधानविपरीत मनोनयन गर्दा विधि बिथोलिने नेताहरूको भनाइ छ ।

दाहालले केन्द्रीय समिति बैठकमा उपराष्ट्रपति भइसकेको व्यक्तिलाई पुनः राजनीतिमा आउन कुनै कानुनी बन्देज नभएको उल्लेख गर्दै आफैं सक्रिय हुन चाहेको बताएका थिए । ‘म फेरि पार्टीमा सक्रिय भएर काम गर्छु भन्नुभयो, त्यसैले आमन्त्रित रूपमा बैठकमा आउनु भएको हो,’ दाहालको भनाइ थियो ।

माओवादीका एक पदाधिकारीका अनुसार पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्षमा मनोनीत गर्ने तयारी हाल स्थगित भएको बताए । ‘उपाध्यक्षमा मनोनीत गर्ने तयारी थियो । पार्टीभित्र प्रश्न उठेपछि हाल स्थगित भएको छ,’ ती पदाधिकारीले भने ।

पूर्वउपराष्ट्रपति पुनले आफू पार्टीमा सक्रिय भएर योगदान दिन चाहेको निकट नेताहरूसँग बताएका छन् । ‘म कुनै पद लिन जानेभन्दा लडेर ल्याएको व्यवस्थामाथि केही योगदान गर्ने उद्देश्यले सक्रिय हुन खोजेको हुँ,’ उनको भनाइ थियो ।

माओवादी केन्द्रीय समिति सदस्य इन्द्र आङ्बोले एकचोटि राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति प्रश्नको घेराभन्दा माथि बस्नुपर्ने बताए । ‘एकपटक राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु उचित हुँदैन,’ उनले भने, ‘बरु सम्मानित अवस्थामै रहेर महिला, बालबालिका, वातावरण र शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्नर्पुर्छ ।’

सम्मानित पदमा पुगेको व्यक्ति पुनः चुनावमा भिड्नु पर्ने उल्लेख गर्दै पराजित भए नमिठो परिणाम भोग्नुपर्ने बताए । ‘अब जो कोही पार्टीभित्र र बाहिर लोकतान्त्रिक प्रणालीमा चुनिएर आउनुपर्छ,’ उनले भने, ‘त्यो ठाउँमा पुगेको मान्छे पराजित भए के हुन्छ ?’

उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा आउँदा आन्तरिक समीकरणमा केही तलमाथि भए पनि एकपटक सम्मानित भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुँदा ‘गालीगलौज, गुटउपगुट, हारजित’ को खेलमा लाग्न नहुने सुझाव पनि दिए ।

‘कुनै व्यक्ति विशेषको विषय होइन । राष्ट्रको सबैभन्दा माथिल्लो पदमा पुगेका मान्छे पनि तल झर्नु पर्‍यो, पार्टी कमिटीबाट कसै न कसैले त अवकाश पनि लिनुपर्‍यो,’ उनले भने, सम्माननीय भइसकेका व्यक्ति हिलो छ्यापाछ्याप, गालीगलौज, हारजितको खेलमा आउनु राम्रो हुँदैन ।’  

माओवादीमा नेतृत्व रूपान्तरणको चर्को बहस भइरहेका बेला ‘एक्जिट’ भइसकेको व्यक्तिको पुनरागमन गराउने तयारीले युवा पंक्तिबाट विरोध भएको हो ।

विश्लेषक एवं माओवादी सचिव राम कार्कीले भने राष्ट्रपति, उपराष्ट्रपति पदमा रहँदा वा नरहँदा आलोचनाभन्दा बाहिर बसेको हुनाले सक्रिय भए ‘जे पनि सहन तयार हुनुपर्ने’ बताए ।

‘राष्ट्रपति र उपराष्ट्रपति भएर बस्दा आलोचनाभन्दा बाहिर बस्छन् । पार्टीमा आए वैचारिक लडाइँ हुन्छ । समूह हुन्छन् । आरोप/प्रत्यारोप हुन्छ । राजनीतिमा आउँदा यी सबै सहन्छु भनेर आउनुपर्ने हुन्छ,’ उनले भने,  ‘जे पनि सहन भयार हुने हो भने गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पनि तयार हुनुपर्छ ।’

पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिहरू राजनीतिक दलमा सक्रिय हुन संवैधानिक र कानुनी बन्देज भने छैन । तर राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्ति पुनः कुनै दल विशेषमा सक्रिय हुने कुरा व्यक्तिको नैतिकता र जिम्मवारीबोधसँग जोडिने विषय भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उपराष्ट्रपति हुनुअघिसम्म पुन अध्यक्ष दाहालका विश्वासपात्र थिए । पुनलाई पार्टीमा भित्र्याउँदा नेतृत्व समूहमा आफ्नो पक्ष बलियो हुने कारणले दाहालले उनलाई उपाध्यक्ष पद दिने तयारी गरेको माओवादी पार्टीकै पदाधिकारीहरू बताउँछन् । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका पुन दलीय राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनी पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएका छन् ।

सशस्त्र द्वन्द्वका बेला नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणी खनाल माओवादी लडाकुको डेपुटी कमान्डर थिए  भने दाहाल सुप्रिम कमान्डर । २०२२ कात्तिक ७ गते रोल्पाको राङ्सीमा जन्मिएका नन्दबहादुर पुन २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित भएका थिए ।

उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो । यसयता डेढ वर्ष उनी कुनै राजनीतिक कार्यक्रम सहभागी भएका थिएनन् ।

गंगा बीसी

Link copied successfully