ऊर्जामन्त्री खड्काबारे लेखा समितिमा छलफल गर्न माग

माघ ८, २०८१

कान्तिपुर संवाददाता

Demand to discuss Energy Minister Khadka in the Accounts Committee

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्ने माग भएको छ । जलविद्युत्‌का ठूला आयोजनामा मिलेमतो गरेको भनी सार्वजनिक भएका विवरणलाई लिएर सार्वजनिक लेखा समितिको बैठक बोलाउनुपर्ने माग भएको हो । 

लेखा समितिको मंगलबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले ऊर्जामन्त्रीको विषय सार्वजनिक रुपमा उठिरहेकाले समितिमा छलफल गर्नुपर्ने बताए ।

'कसले कताका चेक कता पठायो भन्ने सार्वजनिक सञ्चारमाध्यममा आइरहेको छ । ऊर्जामन्त्रीको बारेमा विषय उठिराखेको छ । त्यसको बारेमा सार्वजनिक लेखा समितिमा कुरा गर्नुपर्छ कि पर्दैन ? उजुरी आएपछि कसैले निवेदन हालेपछि मात्रै हुँदैन, समितिले आफै पनि छलफल गर्नुपर्छ,' मोदीले भने ।

जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा ऊर्जामन्त्री खड्कामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । सोही विषयमा समितिमा छलफल हुनुपर्ने माग समितिमा उठेको हो । 

समितिमा उजुरी आएमात्र छलफल हुने नभए छलफल नै नहुने अभ्यास गलत रहेको पनि सांसद मोदीको भनाइ थियो । मन्त्रीहरूमाथि उठेका, आयोजनाका सम्बन्धमा भएका अनियमिततालगायतका सार्वजनिक महत्त्वका विषयमा लेखा समितिमा छलफल हुनुपर्ने उनको माग थियो । 'सार्वजनिक महत्त्वका विषयमा लेखा समितिमा छलफल हुनुपर्छ । ती विषय समितिमा प्रवेश गराउनुपर्छ । समितिमा उजुरी नगर्दा पनि प्रवेश गराउनुपर्ने हुन्छ,' उनले भने ।

सम्बन्धित समाचार :

कान्तिपुर

Link copied successfully