सुन ओसारपसारको अभियोगमा ३८ करोड मागदाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर 

धरौटी बुझाउन नसक्दा दुई जना थुनामा  

माघ ८, २०८१

ऋषिराम पौड्याल

A case was filed against three people with a demand of 38 crores on charges of gold smuggling

काठमाडौँ — राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसारको अभियोगमा ३८ करोड मागदाबीसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा सोमबार मुद्दा दायर गरेको छ । विभागका अनुसार गत साउनमा रसुवा नाकाबाट तीन किलो सुन लुकाइल्याएको अवस्थामा बरामद भएको थियो ।

विभागमा अनुसार सुनसहित पक्राउ परेकामध्ये रामकृष्ण वाइबा र बुद्धिबहादुर तामाङलाई मुद्दासहित अदालत बुझाइएको छ ।

सुनील तामाङ, निमा डुण्डूप तामाङ र कमल घले फरार छन् । उनीहरू सबै रसुवाका हुन् । उनीहरूविरुद्ध जनही ३ करोड ८० हजार ९१ हजार बिगो र बिगोअनुसार शतप्रतिशत जरिवानासमेत माग गरेर मुद्धा दायर गरिएको हो ।

पाँच जना प्रतिवादीविरुद्ध हुन आउने १९ करोड ४ लाख ५५ हजार बिगो र बिगोअनुसार शतप्रतिशत जरिवानासमेत ३८ करोड ९ लाख १० हजार र जेल सजायसमेत माग गरेर मुद्दा दायर गरेको विभागमा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनीहरूले ना ६ ख को मालवाहक गाडीमा फल्स बटम बनाई चीनको केरुङ नाकाबाट रसुवा भएर सुन काठमाडौं भित्र्याउने क्रममा बरामद गरिएको थियो । 

धरौटी बुझाउन नसक्दा थुनामा 

सुनसहित पक्राउ परेका भनिएका रामकृष्ण वाइवा र बुद्धिबहादुर तामाङलाई पटन उच्च अदालतले सोमबार थुनामा पठाएको छ । माग गरेअनुसारको धरौटी राख्न नसक्दा उनीहरू दुवैलाई थुनामा पठाएको हो । अदालतले बुद्धिबहादुरसँग १० लाख र रामकृष्णसँग १ लाख ५० हजार धरौटी माग गरेको थियो ।

अदालतका न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजालसले धरौटी माग गरेको थियो । नगद धरौटी वा सोबराबरको जमानत वा बैंक जमानत लिई तारेखका राख्न आदेश गरेको थियो । उनीहरूले मागअनुसारको धरौटी बुझाउन नसक्दा थुनामा पठाइएको हो । अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यका अनुसार राजस्व अुसन्धान विभागलाई सुनसहित नियन्त्रणमा लिएको भनिएको ट्रक सुरक्षित राख्ने आदेश भएको छ । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully