जरिवाना लगाएर ग्वार्को फ्लाइओभरमा काम

निर्माण व्यवसायीले मागे चैत मसान्तसम्म समय, प्रगति ८२ प्रतिशत मात्र

माघ ६, २०८१

विमल खतिवडा

Work on Gwarko flyover with fines

काठमाडौँ — तेस्रो पटक म्याद थप्दा पनि काम नसकिएपछि ग्वार्को फ्लाइओभरमा जरिवाना लगाएर काम गराइएको छ । तेस्रो पटक २०८१ पुस ९ सम्म म्याद थपिएको थियो । उक्त समयभित्र काम नसकिएपछि सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले निर्माण व्यवसायीलाई गएको पुस १० बाट दैनिक जरिवाना लगाएर काम गराउँदै आएको छ । 

निर्माण व्यवसायीले औसतमा ठेक्का रकमको दैनिक करिब ०.०५ प्रतिशत जरिवाना तिर्नुपर्छ । तोकिएको समयभित्र पनि काम नसकिएपछि नियमअनुसार जरिवाना गराएर काम गराइएको केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । जरिवाना रकम कामअनुसार फरक–फरक हुने केन्द्रले जनाएको छ ।

‘अहिले कोटेश्वर र सातदोबाटो दुवैतर्फ काम भइरहेको छ । तर पनि कामको गति सोचेअनुरूप छैन,’ उनले भने, ‘निर्माण व्यवसायीले चैत मसान्तसम्म समय मागेका छन्, त्यति बेलासम्म पनि जरिवाना लगाएरै काम गराउँछौं ।’ 

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का भएको थियो । जसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले लिएको हो । दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा ठेक्काको कार्यादेश दिइएको थियो । अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत कट्न सकेको छैन । 

निर्माण थालेको ३४ महिना बित्न लाग्दा काम अझै सकिएको छैन । सुरु सम्झौताअनुसार यसको निर्माण गत २०८० फागुन १२ भित्र सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक गत असारसम्मका लागि म्याद थपिएको थियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थपिएको थियो ।

यो समयमा पनि काम नसकिएपछि जरिवाना लगाएर चैत मसान्तसम्मको समय दिइएको छ । ‘चैत मसान्तसम्म काम सक्ने भन्दै निर्माण व्यवसायीले कार्यतालिका दिएका छन्,’ निर्देशक झाले भने, ‘त्यसपछि पनि काम नसकिए कानुनअनुसार कारबाही गर्दै काम गराउँछौं ।’ यसको निर्माण सक्न अझै कति समय लाग्ने हो, टुंगो छैन, जसले गर्दा कोटेश्वरबाट कलंकी र कलंकीबाट कोटेश्वरतर्फ जाने यात्रुले दैनिक ट्राफिक जामको सास्ती झेल्नुपरेको छ । 

‘कोटेश्वरतर्फ र्‍याम्प राख्ने काम हुँदै छ,’ झाले भने, ‘सातदोबाटोतर्फ पहिला गरेको काममा केही सुधार गर्नुपर्ने देखिएको छ, दुवैतर्फ र्‍याम्पको काम सकेर मात्र कालोपत्र सुरु हुन्छ ।’ डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम नसकिएको निर्माण व्यवसायीको भनाइ छ । अहिले छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम भइरहेको छ । 

र्‍याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको करिब ४० मिटर र्‍याम्प भने झिकेर फेरि राखिँदै छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । 

निर्माण कम्पनीले भने घाटा सहेर काम गरिरहेको दाबी गर्दै आएको छ । १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लिए पनि ४४ करोडभन्दा बढी खर्च भइसकेको निर्माण कम्पनीको दाबी छ । निर्माणमा हुने नाफा–घाटाको जोखिम निर्माण कम्पनीले नै लिनुपर्ने र जुन सरकारको सरोकारको विषय नभएको निर्देशक झाले प्रस्ट्याए । 

यसअघि केन्द्रले दसैंअघि नै फ्लाइओभर सञ्चालनमा ल्याउने दाबी गरेको थियो । तर पानी परेर काम गर्न नपाउँदा भनेकै समयमा सम्पन्न हुन नसकेको ठेक्का लगाउने निकायको दाबी छ । पटक–पटक म्याद थप्दा पनि आयोजना सकिएन, जसले गर्दा यस खण्डमा साँझ–बिहान सबैभन्दा बढी ट्राफिक हुन्छ । यसले गर्दा दैनिक सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सास्ती हुने गरेको छ । 

कोटेश्वर–कलंकी सडकलाई चीन सरकारको अनुदानमा २०७५ सालमा ८ लेनमा विस्तार गरिएको थियो । अहिले यही खण्डमा पर्ने ग्वार्कोमा सडकमा फ्लाइओभर निर्माण थाल्दा ट्राफिक जामको समस्या थपिएको हो । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully