साउदीमा मृत्युदण्ड सुनाइएकी सरस्वतीको मुद्दाको सुनुवाइ पुनः सुरु

घरेलु श्रमिकका रूपमा साउदी अरब पुगेकी रूपन्देहीकी सरस्वतीमाथि आफ्नै रोजगारदाताको हत्या गरेको अभियोग, तर आफूलाई फसाइएको उनको अडानपछि त्यहाँको सर्वोच्च अदालतबाट मुद्दाको न्यायिक प्रक्रिया पुनः सुरु गर्न आदेश

माघ ६, २०८१

होम कार्की

The trial of Saraswati, who was sentenced to death in Saudi, has resumed

काठमाडौँ — साउदी अरबका तीनै तहको अदालतबाट मृत्युदण्ड सजाय पाएकी रूपन्देहीकी सरस्वती गुरुङ घिमिरेको मुद्दाको न्यायिक प्रक्रिया पुनः सुरु भएको छ । त्यहाँको सर्वोच्च अदालतले घिमिरे जोडिएको हत्याको मुद्दालाई शून्य विन्दुबाट सुनुवाइ गर्न आदेश दिएलगत्तै साउदीको तल्लो अदालतले फेरि सुनुवाइ थालेको हो । तल्लो अदालतले जनवरी २६ मा तेस्रो सुनुवाइको तारिख दिएको छ । 

घरेलु श्रमिक (हाउसमेड) को हैसियतमा साउदीको राजधानी रियाद पुगेकी घिमिरेलाई आफ्नै रोजगारदाता अब्दुल रहमान अब्दुल अजिज अलाज लानको हत्या अभियोगमा तल्लो, उच्च र सर्वोच्च अदालतले मृत्युदण्डको फैसला गरेको थियो । लानको २०७० भदौ २३ मा आफ्नै निवासमा हत्या भएको थियो । तर, घिमिरेले आफूले हत्या गरेको नभई फसाइएको अडान राख्दै आएकी छन् ।

‘मालिक र मालिक्नीबीच सम्बन्ध बिग्रिएको थियो । हत्या भएको दिन मास्क लगाएर एक साउदी नागरिक घरभित्र आए । उनले मलाई शौचालयमा थुनिदिए । दुई घण्टापछि शौचालय खोलेर मेरो हातमा धारिलो चक्कुले प्रहार गरिदिए । त्यो चक्कु मेरो हातमा नै राखिदिएर फेरि शौचालयमा थुनिदिए,’ उनले अदालत र नेपाली दूतावाससमक्ष भनेकी छन्, ‘मलाई फसाइयो । म निर्दोष छु ।’ मालिक र मालिक्नीबीच खटपट र अंश विवादको सिकार आफू भएको घिमिरेले बताउँदै आएकी छन् । 

यो मुद्दामा सर्वोच्च अदालतमा निवेदन दिएपछि पुनः सुनुवाइ सुरु भएको रियादस्थित नेपाली दूतावासका उपप्रमुख डमरुबल्लभ पौडेलले बताए । ‘यसबारे साउदीको विदेश मन्त्रालयमा पनि लिखित जानकारी गरायौं । साउदीको मानवअधिकार आयोग र गभर्नरलाई भेटेर ध्यानाकर्षण जनायौं,’ पौडेलले भने, ‘घिमिरेको वकिलले पनि पहल गर्नुभयो । दुवै पक्षको पहलपछि सर्वोच्चले शून्यबाट न्यायिक सुनुवाइ गर्न आदेश दिएको हो ।’ 

सरस्वतीलाई तल्लो तहको अदालतले मृत्युदण्ड सुनाएको तीन वर्षसम्म पनि नेपाली दूतावासले सूचना पाएको थिएन । तल्लो अदालतले २०७१ मंसिर २४ मा नै मृत्युदण्डको फैसला सुनाएको थियो । त्यसपछि उच्च अदालतले पनि सोही फैसलालाई सदर गरेको थियो । यता, परिवारसमेत सरस्वतीको खोजीका लागि दूतावासको सम्पर्कमा पुगेका थिएनन् । यसको कारण थियो, बुटवलमा रहेका छोरा सुनिल र छोरी सावित्रीले २०६९ वैशाखमा साउदी अरबबाट आएको आमा सरस्वतीको नाम गरेको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुझेका थिए ।

‘साउदी अरब पुगेको ७ महिनामै आमाको नामको शव आयो । त्यो शवको साथमा आमाको फोटोसहितको हस्तलिखित राहदानी थियो । शव नचिन्ने भइसकेको थियो । आँखा निकै गडेको थियो । गाला पनि चाउरिएको थियो । दाँत मात्रै देखिएको थियो,’ छोरा सुनिलले कान्तिपुरसँग भने, ‘हामीले आमाकै शव होला भन्ठान्यौं । पशुपतिमा दाहसंस्कार भयो । गाउँमा आएर काजकिरिया गर्‍यौं ।’ 

त्यसको ६ वर्षपछि सुनिलले आमालाई साउदीको मलाज जेलमा भेटे । ‘म साउदी अरबमा काम गर्न पुगेको थिएँ । दूतावासले तपाईंको आमासँग मिल्दो नाम गरेको महिला जेलमा छिन् । तपाईंको आमा हो कि होइन ? भेट्न जानुपर्‍यो भनेर जानकारी पाएँ,’ उनले भने, ‘आमा त जेलमै हुनुहुँदोरहेछ ।’

परिवार १० वर्षदेखि जेलमा थुनिएकी आमा सरस्वती छुट्ने आशामा छ । ‘हामीले त आमा गुमाएका थियौं । कहाँबाट के भयो, जेलमा भेटिनुभयो । त्यो पनि मृत्युदण्डको सजाय पाएपछि,’ सुनिलले भने, ‘जेलबाट बेलाबेला फोन पनि गरिराख्नुहुन्छ ।’ उनको आमाको नाममा कसको शव आयो भन्ने पत्ता अहिलेसम्म लागेको छैन । 

तल्लो र उच्च अदालतबाट सुनाइएको मृत्युदण्डको फैसलालाई सर्वोच्चले पनि सदर गरेको थियो । ‘दूतावासबाट खटिएका कर्मचारी र सरस्वतीका तर्फबाट खटिएका वकिलले सर्वोच्चको फैसलाबाट न्याय नमिलेको भन्दै अदालतमा अपिल गरे । त्यो आग्रहलाई सर्वोच्चले स्वीकार गरी फैसलालाई समीक्षा गर्न भन्दै पुनरावेदन अदालतमा पठाइदियो,’ दूतावासका उपप्रमुख पौडेलले भने, ‘गत वैशाखमा पुनरावेदनले मुद्दाको सुनुवाइ गर्न पाँच सदस्यीय न्यायाधीशको इजलास गठन गर्‍यो ।’ 

पुनरावेदनको इजलासको दिन चार जना मात्रै न्यायाधीश उपस्थित भएर मुद्दाको पक्ष–विपक्षमा बहस भयो । त्यस दिन तत्कालीन राजदूत नवराज सुवेदी, उपप्रमुख पौडेलसहित दूतावासका कर्मचारी पनि इजलासमा सहभागी थिए । सुवेदी आफैंले पनि पुनरावेदन अदालतमा बहस पैरवी गरे ।

‘जसको हत्या भनिएको छ । त्यो व्यक्ति सरस्वतीभन्दा निकै अग्लो, मोटो र बलियो रहेछ । होचो कद भएकी सरस्वतीले अग्लो कद र बलियो व्यक्तिको छातीमा चक्कु हानेर हत्या गरेको विषय पत्यारिलो छैन,’ सुवेदीले पुनरावेदनसमक्ष भनेका थिए, ‘सरस्वतीलाई फसाइने काम भएको छ । उनी निर्दोष छिन् । सुरुको अदालतमा गराइएको बयान गर्ने बेलाको भाषा अनुवादक नेपाली भाषाका जानकार होइनन् । जसले गर्दा बयान त्रुटिपूर्ण रहन गयो ।’ 

पुनरावेदनको त्यो इजलासको राय विभाजित भयो । दुई जना मृत्युदण्डको पक्षमा उभिए । दुई जना विपक्षमा उभिए । सुनुवाइको दिन अनुपस्थित न्यायाधीश फैसला लेख्ने बेला मृत्युदण्डको पक्षमा उभिए । सर्वोच्चको आदेशमा सुनुवाइ भएको पुनरावेदनको ‘रिभ्यु’बाट सरस्वती दोषी ठहर भइन् । यो फैसलाविरुद्ध फेरि सरस्वती, उनका वकिल र दूतावास देखिए । उनीहरूले पुनः अन्याय भएको भन्दै सर्वोच्चमा निवेदन दिए । 

सर्वोच्चले यसलाई शून्यबाट न्यायिक प्रक्रिया सुरु गर्ने भन्दै तल्लो अदालतलाई आदेश दिएको हो । यो आदेशबाट सरस्वतीमाथि न्याय मिल्ने आशा बढेको छोरा सुनिलले बताए ।

‘अहिले आमा खुसी हुनुभएको छ । निर्दोष ठहर हुने सम्भावना बढेको छ । अब छिटै नेपाल आउनुहुन्छ भन्ने आशा पलाएको छ,’ सुनिलले भने । सरस्वतीको पक्षबाट पनि साउदीको प्रभावशाली वकिलको फर्म नै खटिएको छ । रियादको मलाज जेलमा सजाय पाएका महिलाहरूले सरस्वतीलाई न्याय दिलाउन चन्दा संकलन गरेका छन् । ‘वकिलले हामीसँग सेवाशुल्क मागेका छैनन्,’ पौडेलले भने । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully