काठमाडौँ — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले दोस्रो व्यक्तिलाई पक्राउ गरेको छ । त्रिपाठीलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार हुम्लाका महेन्द्र पाण्डेलाई पनि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्नहरूलाई खोजी गर्ने क्रममा फरार रहेका पाण्डेलाई पक्राउ गरिएको हो । माघ २ गते काठमाडौं जिल्ला अदालत बाहिर पाण्डेमाथि कुटपिट भएको थियो ।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा धरौटीमा छोडेको दिन उनको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको थियो । पाण्डेलाई पक्राउ गरिएकोबारे प्रहरीले भनेको छ, 'काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला काठमाडौं सुर्यदर्शन हाईट बस्ने वर्ष ३२ को महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई माघ ५ गते नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ ।'
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा दोलखाका ललितकुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योगमा अदालतबाट म्याद थप भएको छ ।
