राजदूत घिमिरे भन्छन् : बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि पहल गर्छु

माघ ६, २०८१

नवीन पोखरेल

Ambassador Ghimire says: I will take initiative for the British Prime Minister's visit to Nepal

लन्डन — बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन निरन्तर पहल रहने बताएका छन् । लन्डन दूतावासमा कार्यभार सम्हालेको भोलिपल्ट कान्तिपुरसँग पहिलोपटक कुरा गर्दै राजदूत घिमिरेले त्यसमा आफ्नो पहल निरन्तर रहने बताएका हुन् ।

बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय ८ वर्ष भन्दा बढी समयमा अहिलेसम्म एकजना बेलायती प्रधानमन्त्रीको पनि नेपाल भ्रमण भएको छैन ।

'पहिल्यै समय राखेर भन्न त सक्दैनौं । तर म आशावादी छु । आगामी दिनमा दुवैतर्फबाट महत्त्वपूर्ण भ्रमण हुनेछन् । त्यसले दुई देशबीचको सम्बन्धलाई थप संवर्धन गर्नेछ,' उनले भने ।

बेलायत नेपालका लागि निकै महत्त्वपूर्ण मुलुक र बेलायतसँगको सम्बन्ध नेपालका लागि निकै महत्त्वपूर्ण र ऐतिहासिक रहेको उनको भनाइ छ ।आफ्नो कार्यकालमा आर्थिक र राजनीतिक कूटनीतिलाई प्राथमिकता दिने उनले बताए ।लामो समय उद्योग र वाणिज्य क्षेत्रमा सेवा गरेका पूर्वसचिव घिमिरेले बेलायतको अर्थतन्त्रबाट बढीभन्दा बढी लाभ लिने गरी जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

'नेपाल सरकारका अपेक्षा छन्, नेपालको अर्थतन्त्रका अपेक्षा छन् । नेपाली समाजका केही अपेक्षा छन् । यी सबैलाई पूरा गर्ने गरी मैले निकै लामो एउटा कार्ययोजना तयार गरेको छु,' राजदूतले अगाडि भने, 'ती कार्ययोजना संसदीय सुनुवाइका क्रममा सम्मानित संसद्समक्ष काठमाडौंमा पनि पेस गरेको छु । विभिन्न सरोकारवालासँग त्यसलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भनेर मैले छलफल चलाएको छु । त्यसमा पोलिटिकल डिप्लोमेसीका कुरा परेका छन् । कहाँ कसरी हामीले लाभ लिन सकिन्छ भन्ने कुरा त्यसमा छन् । कतिपय इकोनोमी डिप्लोमेसीका कुरा छन् । कसरी नेपालको अर्थतन्त्रले बेलायतबाट बढीभन्दा बढी र छिटो लाभ लिन सक्छ भन्ने कुरा पनि त्यसमा समावेश छ । हाम्रो सांस्कृतिक, सामाजिक डिप्लोमेसीका कुरा पनि छन् ।'

बेलायत र आइरिस डायस्पोरामा नेपालीको उपस्थिति बलियो भइसकेको उल्लेख गर्दै उनले नेपाल र नेपालीको हितका लागि उनीहरुको उपस्थितिका आधारमा 'सफ्ट पावर' उपयोग गर्नुपर्नेमा पनि जोड दिए । 'शैक्षिक, अनुसन्धनात्मक विषय पनि छन् । यहाँका प्रतिष्ठित तत्सम्बन्धी प्रतिष्ठान र निकायहरूसँग नेपालका त्यो क्षेत्रमा काम गर्ने संस्थाहरूसँग सहकार्य गर्ने विषय छन् । त्यसलाई मेरो कार्ययोजनामा समेटेको छु । सँगसँगै गोर्खा समुदायका समस्या समाधान गर्ने कार्ययोजनामा छन् । यी यावत कुराहरुका रोडम्याप लिएर हामी त्यसलाई कार्यान्वयनमा लैजाने गरी अठोटका साथ अगाडि बढेका छौं,' राजदूत घिमिरेले सुनाए ।

नेपाल अहिले राजनीतिक रूपमा स्थिर मुलुक भएको बताउँदै राजदूत घिमिरेले आगामी दिनमा हामीले छिटोभन्दा छिटो तीव्रतर आर्थिक प्रगति र आर्थिक वृद्धिदर हासिल गर्नु पर्ने बताए । 'त्यसको लाभ ग्रासरुटसम्म हामीले पुरयाउनु पर्नेछ । लगानीका विषयमा हामीले धेरै काम गर्नु पर्नेछ । अन्तर्राष्ट्रिय व्यापारका क्षेत्रमा हामीले लाभ लिनुपर्नेछ । नेपाल विश्वकै एउटा आकर्षण पर्यटकीय गन्तव्य भएकाले त्यसबाट हामीले बढीभन्दा बढी लाभ लिनु पर्नेछ । धेरै क्षेत्रबाट लाभ लिनु पर्ने भएकाले हामी सबै कुरामा तयार छौं,' उनले भने ।

संसारमा कुनै पनि ठूलाभन्दा ठूला समस्याको समाधान वार्ताबाटै भएको उल्लेख गर्दै उनले भूतपूर्व गोर्खा मुद्दा पनि वार्तामात्रै समाधान गर्न आफ्नो पहल निरन्तर रहने अठोट उनले व्यक्त गरे । उनले त्यसका लागि गृहकार्य र उपयुक्त समयको पर्खाइमा काम गर्नुपर्नेमा समेत जोड दिए । 'डिप्लोमेसी भनेको गेम अफ इन्गेजमेन्ट हो । जति धेरै इन्गेज हुन सक्यौं हामी समाधानको त्यति नजिक पुग्न सक्छौं । यो इन्गेजमेन्टबाट हामी लजिकल कन्क्लुजनमा पुग्न सक्छौं । दुई देशबीचको ऐतिहासिक सम्बन्धको संवेदनशीलतालाई पनि अक्षुण्ण राख्दै, थप संवर्धन गर्दै हामीले यसको समाधान खोज्नु पर्ने हुन्छ,' भूतपूर्व गोर्खा मुद्दामा राजदूत घिमिरेले थपे, 'विगतका महामहिमज्यूहरुले पनि यसमा प्रयास गर्नु भएको छ। वार्ताको विकासक्रम जहाँसम्म पुगेको छ, त्यसलाई अगाडि बढाएर ‘लजिकल कन्क्लुजन’ मा कुनै न कुनै दिन पुग्न सकिनेमा म विश्वस्त छु । वार्ताबाट कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । वार्तालाई नै सबैभन्दा महत्त्व दिएर अगाडि बढ्नु पर्छ ।' बेलायतका नेपाली समुदायसँग आगामी दिनमा निरन्तर रूपमा जोडिने उनले बताए । 

नवीन

Link copied successfully