मधेशको इतिहास नेपालको इतिहासभन्दा हजारौं वर्ष पुरानो छ : उपेन्द्र यादव

विकासका नाममा विदेशबाट ऋण लिइएका सबै रकम कांग्रेस कम्युनिष्टले खाए

माघ ५, २०८१

विनय आजाद

The history of Madhesh is thousands of years older than the history of Nepal: Upendra Yadav

सिरहा — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशको इतिहास नेपालको इतिहासभन्दा हजारौं वर्ष पुरानो रहेको बताएका छन् । 

सिरहा सदरमुकाममा शनिबार बलिदानी दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल नेपाली भाषीहरूको देश मात्रै रहेको भाष्य बनाइएको भन्दै यसलाई मधेश आन्दोलनले हदसम्म चिरेको यादवको भनाइ छ । 'नेपाल भनेको नेपाली भाषीहरूको देश मात्रै हो भन्ने भाष्य बनाइएको थियो, देशमा मात्रै होइन, विदेशमा पनि,' उनले भने, 'जबकि मधेशको इतिहास नेपालको इतिहासभन्दा हजारौं वर्ष पुरानो छ ।'

मधेशको संस्कृति र सभ्यता उत्सर्गमा हुँदा नेपाल र नेपाली शब्दको नामोनिशानसमेत नभएको दाबी उनको छ । गोर्खा साम्राज्यवादीहरूले एकल बर्चस्व हुने गरी मधेशलाई कब्जा गरेर देशको नामकरण गरेको यादवको भनाइ छ ।

मधेश आन्दोलनले उनीहरूको यो अत्याचारमाथि दह्रो रूपमा प्रहार गरे पनि अझै सशक्त संघर्षको आवश्यकता रहेको यादवले बताए । 'यो मुलुकमा थुप्रै राष्ट्रियता छ, सयौं जात र समुदाय छन्,' उनले भने, 'यो मुलुक यहाँ बसोबास गर्ने सबै जातजाति र भाषाभाषीहरूको साझा मुलुक नबनेसम्म संघर्ष गरिरहन आवश्यक छ ।'

मधेश आन्दोलनकै बलमा मुलुकले संघीयता पाएको भन्दै यसलाई असफल बनाउन कांग्रेस कम्युनिष्टहरू लागिपरेको उनले आरोप लगाए । नेपालमा विकासका नाममा विदेशबाट ऋण ल्याइएका सबै रकम कांग्रेस कम्युनिष्टले भ्रष्टाचार गरेर खाएको आरोप पनि उनले लगाएका छन् ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully