आज देश-दुनियाँमा के-के भयो ?

माघ ४, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — आज रवि र छविविरुद्ध चितवन प्रहरीको अनुसन्धान पूरा, सरकारले निरंकुशता लाद्न खोजेको विपक्षी ७ दलको भनाइदेखि १० औँ राष्ट्रिय खेलकुदको तयारीमा ढिलाइसम्मका समाचार चर्चामा रहे ।

०००

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।  

०००

विपक्षी दलहरूले वर्तमान सरकारले निरंकुश शासन लाद्न खोजेको बताएका छन् । शुक्रबार संसद् भवनमा बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा प्रमुख प्रतिपक्षी दल माओवादीसहितका ७ दलले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको बताएका हुन् । 

०००

गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । 

०००

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमुना लिएर विज्ञ टोली चीन गएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताए ।  

०००

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले आगामी चैत २३ देखि ३० सम्म कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । जसका लागि पूर्वाधार निर्माणका कामलाई तीव्र पारिएको छ । तर यही समयमा कर्णाली प्रदेश खेलकुद विकास परिषद् भने झन्डै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully