स्काउटका कार्यकारी निर्देशक जिम्मेवारीमा फर्किए

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Scout's executive director returns to the helm

काठमाडौँ — नेपाल स्काउटमा निलम्बनमा परेका कार्यकारी निर्देशक रामप्रसाद भट्टराई शुक्रबारदेखि जिम्मेवारीमा फर्केका छन् । उनलाई पुस २६ गते प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले पदबाट निलम्बन गरेका थिए ।

निलम्बनसँगै स्काउटका सदस्य अजित लामालाई निमित्त कार्यकारीको जिम्मेवारी दिइएको थियो । युवा तथा खेलकुदमन्त्री तथा प्रमुख स्काउट तेजुलाल चौधरीको निर्देशनमा निर्देशकको जिम्मेवारीमा फर्केको भट्टराईले बताए ।

गैरकानुनी रूपमा निलम्बन गरिएको र गैर कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको भन्दै उनले मन्त्रालयमा उजुरी दिएका थिए । उनले उजुरी दिएपछि प्रमुख आयुक्त रञ्जित र भट्टराईबीच विवाद सुरु भएको थियो ।

भट्टराईले सुरक्षा माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेपछि जिल्ला प्रशासन काठमाडौंले स्काउट केन्द्रीय कार्यालय लैनचौरमा प्रहरीसमेत परिचालन गरेको थियो । मन्त्री चौधरीले विवाद समाधान गर्न तत्काल राष्ट्रिय कार्यकारी समितिको बैठक डाक्न प्रमुख आयुक्तलाई निर्देशन दिएका थिए ।

स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएका कारण स्काउट कर्मचारी नियमावलीअनुसार निलम्बन गरिएको रञ्जितको भनाइ थियो । उनले निर्देशकमाथि विभिन्न आरोपसमेत लगाएका थिए । ३ महिनाका लागि भट्टराईलाई निलम्बन गर्दै ६ महिनाका लागि लामालाई नियुक्त दिइएको थियो ।

नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ मा कुनै जाँचबुझ परेमा मात्र जाँचबुझ समाप्त नभएसम्म कर्मचारी निलम्बन गर्न सकिने प्रावधान छ । त्यो स्काउटको पूर्ण कार्यसमितिले गर्ने कि आयुक्तले भन्ने स्पष्ट छैन । करारमा ६ महिनाका लागि कर्मचारी नियुक्त गर्नपरे स्काउटको राष्ट्रिय सचिवले न्यूनतम योग्यता पुगेको व्यक्तिलाई सूचना जारी गरी नियुक्त गर्न आदेश दिनसक्ने नियमावलीमा उल्लेख छ । उक्त कार्य पदपूर्ति समितिले गर्नेछ । स्काउटमा सदस्यसचिव र पदपूर्ति समितिसमेत रिक्त छ ।

कान्तिपुर संवाददाता

Link copied successfully