४२ औं पटक बडघर बने धीरेन्द्र

पहिलो पटक बडघर हुँदा धीरेन्द्र १४ वर्षका थिए, जुागाको रेखी बस्दै थियो, अहिले ५६ वर्षका उनका दाह्रीजुागा फुलिसकेका छन्, गाउँ समाजलाई एकताबद्ध बनाउन उनको भूमिका भने निरन्तर छ 

माघ ४, २०८१

भवानी भट्ट

Dhirendra became Badghar for the 42nd time

कञ्चनपुर — माघी मनाएर गाउँका सबै जना एक ठाउँ भेला भए र वर्षभरिका कामको समीक्षा गरे । समुदायका समस्या समाधान गरेर सबैलाई एकजुट बनाउन कसले के गर्ने भन्ने छलफल भयो । छलफल ‘खोजनी बोझनी’ (बडघर छान्ने) विषयमा प्रवेश गर्‍यो । सबैले एकैस्वरले फेरि ५६ वर्षीय धीरेन्द्र डगौंरालाई नै बडघर छानेर शुभकामना दिए । 

बेदकोट नगरपालिका–९ लालपुरको थारू बस्तीमा बुधबार स्थानीयले डगौरालाई ४२ औं पटक बडघर चुनेका हुन् । ‘अब त कोही नयाँ तयार हुनुपर्छ भनेको हो, तर सबैले मलाई नै फेरि बडघर बनाए,’ धीरेन्द्रले भने ।

पहिलो पटक बडघर हुँदा धीरेन्द्र १४ वर्षका थिए, भर्खर जुंगाको रेखी बस्दै थियो । अहिले ५६ वर्षका उनका दाह्रीजुँगा फुलिसकेका छन् । धेरै कुरा परिवर्तन भइसकेको छ । तर गाउँ समाजलाई एकताबद्ध बनाउन उनको भूमिका भने निरन्तर छ । त्यसकै लागि उनलाई फेरि बडघर छानिएको हो । 

बुबा छोटेलाल १० वर्षसम्म बडघर भएपछि यो जिम्मेवारी धीरेन्द्रको काँधमा आएको हो । त्यसयता उनी निरन्तर बडघर चुनिँदै आएका छन् । पहिलो पटक बडघर हुँदा लालपुरसँगै, वसन्तपुर, सुन्दरपुर र मन्दीरपुर एउटै गाउँ थियो । करिब दुई/अढाई सय परिवार एउटै गाउँमा बस्थे । तर अहिले सबै गाउँ छुट्टिएका छन् । लालपुरमा ४० परिवार मात्रै छन् । तिनै ४० परिवारले उनलाई बडघर छानेका हुन् ।

हरेक वर्ष माघीकै बेला बडघर छानिन्छ । पुरानैलाई निरन्तरता दिने भए पनि माघीकै बेला निर्णय गरिन्छ । यसका लागि गाउँको भेलामा छलफलपछि निर्णय हुन्छ । बडघर गाउँको मुखिया पनि हो । गाउँमा हुने हरेक गतिविधिमा बडघरको संलग्नता हुन्छ । जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा बडघरकै निर्णय गाउँलेले मान्छन् । यसलाई उनीहरूको समुदायमा ‘मरनी करनी’ भन्ने गरिन्छ । 

गाउँमा हुने विवाह, व्रतबन्धदेखि सडक, कुलो खन्ने, झैझगडा मिलाउने वा अन्य समस्या समाधानका लागि पनि बडघरकै भूमिका महत्त्वपूर्ण मानिन्छ । जंगलबाट दाउरा ल्याउनेदेखि चिर्ने, पात ल्याएर दुनाटपरी बनाउने, खाना बनाउने र निम्तो बाँड्नेलगायत कामको जिम्मेवारीको बाँटफाँड बडघरले नै गर्छन् । विगतमा जस्तो धेरै काम नभए पनि बडघरको भूमिका कम नभएको डगौंरा बताउँछन् । 

‘त्यतिबेला गाउँले एकजुट हुन्थे तर अहिले त्यस्तो छैन,’ धीरेन्द्रले भने, ‘अहिले प्रतिस्पर्धात्मक जीवन भएको छ, सबै आ–आफ्नो काममा व्यस्त छन् ।’ गाउँमा एकता सद्भाव कायम गराउने जिम्मा पनि बडघरकै हो । ‘जिम्मेवारी पहिलेभन्दा बढेको छ, मानसम्मान पनि बढेको छ,’ बडघर, भलमन्सा मटावा महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका धीरेन्द्रले भने, ‘तर अहिले सामाजिक कामका लागि समय दिने कम छन्, यसकारण पहिलेजस्तो सबैलाई एकजुट बनाउन पनि गाह्रो छ ।’

लामो समयदेखि बडघर छान्ने काममा संलग्न लालपुरका ६२ वर्षीय गोपीचन्द्र डगौंराले गाउँलाई एकजुट बनाउन सक्नेलाई बडघर छान्ने गरिएको बताए । ‘पहिले बुबा थिए, त्यसपछि छोराले जिम्मेवारी लिएका छन्, राम्रै काम भइरहेको छ, धीरेन्द्र सबैलाई सम्मान र एकजुट गर्न सक्ने व्यक्ति हुन्,’ उनले भने । सबैको कुरा सुन्ने र सबैलाई न्याय दिन सक्ने व्यक्ति नै बडघर हुनुपर्ने उनले बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully