प्रमुख सचेतकहरूको निष्कर्ष : संसद्लाई प्रभावकारी बनाउँदै कानुन निर्माणमा तीव्रता दिन एकजुट भएर अघि बढ्ने

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Conclusion of the Chief Whips: Make the parliament effective and move together to speed up the law making

काठमाडौँ — संसद्का प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार सिंहदरबारमा  भएको प्रमुख सचेतकहरूको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए । उनले सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढङ्गबाट कानुन निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको बताए । 

‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्न सक्छौँ । हामीले साझा ढङ्गबाट संसद्भित्रका कामहरू कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषयमा छलफल चलायौँ । विशेष गरी प्रतिपक्ष र हामी चार वटा दलहरूका प्रमुख सचेतकहरूको मुख्यतया संसद्मा विचाराधीन विधेयकहरूका बारेमा विपक्षीको धारणाका विषयमा पनि छलफल गर्‍यौँ,' उनले भने, 'अगामी दिनमा सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो छरितो ढङ्गबाट कानुन निर्माणको तहमा पुर्‍याउन हामी सांसदहरूले वा हामी संसदीय दलहरूले कुन प्रकारको भूमिका खेल्ने हो ? हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने ? यी लगायतका विषयमा हामीले छलफल गर्‍यौँ ।'

उनले सरकारले संसदमा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षौँ होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबीच सहमति भएको बताए । उनले कानुन निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, 'आम रूपमा हाम्रो आजको बैठकको निष्कर्ष भनेको संसद्को प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद् अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिङ्गो दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्षमा पुग्यौँ।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । 

कान्तिपुर

Link copied successfully