शीतलहर सकिनै लाग्दा स्थानीय सरकार भन्छन् : न्यानो कपडा बाँड्ने तयारी छ

‘म त बर्दास्त गर्नसक्छु, तर बच्चाले त सक्दैन नि,’ २० वर्षीया प्रमिला सदा भन्छिन्, ‘चिसो हावा चलेपछि रोइरहन्छिन्, रातभरि च्यापेर बस्नुपर्छ ।’

माघ ३, २०८१

विनय आजाद

When the cold wave is about to end, the local government says: It is ready to distribute warm clothes

सिरहा — मिर्चैया नगरपालिका-७ तात्रीबारीकी २० वर्षीया प्रमिला सदा कठ्यांग्रिदो जाँडो सुरु भएयता चैनले सुत्न पाएकी छैनन् । कारण हो, उनी सुत्ने घर घरजस्तो छैन, गोठजस्तो छ ।  झुपडीमा टाट पनि छैन, चारैतिरबाट खर अड्याइएको छ । सुत्न खाट पनि छैन । त्यस झुपडीभित्र भुईंमा खर राखिएको छ । त्यसैमाथि एउटा तन्ना ओछ्याएर एउटा पातलो कम्बलको भरमा उनी ६ महिनाकी छोरी लिएर सुत्छिन् ।

रातको समयमा अत्यधिक चिसो हावा चल्छ । प्रमिला आफू त जसोतसो चिसो सहन्छिन् । तर, रातमा छ महिनाकी बच्चा घरिघरि चिच्याइरहन्छिन् । ‘म त बर्दास्त गर्नसक्छु, तर बच्चाले त सक्दैन नि,’ उनले कान्तिपुरलाई सुनाइन्, ‘चिसो हावा चलेपछि रोइरहन्छिन्, रातभरि च्यापेर बस्नुपर्छ ।’

उनको जस्तै वेदना छ, स्थानीय ३५ वर्षीया सोभा सदाको पनि । श्रीमान्, श्रीमती र चार सन्तान गरी ६ जनाको परिवार छ उनको । तर, गोठजस्तो लाग्ने थोत्रा झुपडीमा भुईंमा खर र पुराना लुगा ओछ्याएर एउटै कम्बलको ओढेर सबै सुत्छन् । उनी भन्छिन्, ‘जाडो त हाम्रो लागि काल नै बनेर आउँछ, एक त चरम गरिबी र अभावसँग जुधिरहेकै हुन्छौं, त्यसमाथि भगवान्‌ले हामीलाई यो थप पीडा दिने गर्छ, सबै समस्या हामी गरिबले नै त भोग्ने हो नि ।’ 

उनी दुई जनाको मात्र नभई यो बस्तीका सबैजसोको समस्या उस्तै नै हो । यो बस्तीमा १५ घरपरिवार मुसहर, सार्कीलगायतका समुदायको बसोबास छ । जंगलबाट दाउरा ल्याएर बेच्दै गुजारा गर्ने उनीहरु आर्थिक रूपले निकै विपन्न छन् । जाडो छल्न न्यानो लुगाफाटो र ओढ्ने ओछ्याउने किन्नसक्ने पनि आर्थिक सामर्थ्य नभएका उनीहरु कतैबाट केही न्यानो राहत आउँछ कि भन्ने आश लगाएर बसेका छन् । तर, अहिलेसम्म कतैबाट कुनै किसिमको सहयोग यो बस्तीमा पुगेको छैन । जाडोयाम कट्नै लाग्दा मिर्चैया नगरपालिकाले भने अहिलेसम्म न्यानो वितरण गर्ने सुरसार नै गरिरहेको छ । मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालले न्यानो वितरणको तयारी भइरहेको बताएका छन् । ‘हामीले एक ठाउँमा न्यानो कपडा वितरण पनि गरेका छौं,’ उनले कान्तिपुरसित भने, ‘नगरपालिकाका अन्य स्थानहरूमा पनि अब वितरण गर्ने भनेर सोचिरहेका छौं ।’

When the cold wave is about to end, the local government says: It is ready to distribute warm clothesमिर्चैया नगरपालिकाको यो एक विपन्न बस्ती र मिर्चैया नगरपालिका उदाहरण मात्रै हो । जिल्लाका अधिकांश स्थानीय तह यसप्रति जवाफदेही र गम्भीर बनेको देखिएको छैन । जिल्लाका १७ स्थानीय तहमध्ये कतिपयले केही छिटपुट स्थानमा न्यानो कपडा वितरण गरे पनि अन्य अधिकांशको रेडिमेड जवाफ छ– न्यानो कपडा वितरणको तयारी भइरहेको छ । शीतलहरसँग जुध्न पूर्वतयारी गर्नुपर्नेमा जिल्लास्थित विपद् व्यवस्थापन समितिले पनि भर्खरै एक साताअघि मात्रै न्यानो कपडा वितरण गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसाग समन्वय गरी न्यानो कपडा वितरण गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । दाहालका अनुसार, केही स्थानमा न्यानो वितरणको काम पनि भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले प्रदेश सरकारसँग वितरणका लागि १७ हजार थान कम्बल माग पनि गरेको छ । तर, अहिलेसम्म त्यस विषयमा कुनै प्रतिक्रिया नआएको दाहालले बताए । ‘अहिले हामीले न्यानो वितरणका लागि स्थानीय तहहरुसाग समन्वय गरिरहेका छौं,’ उनले कान्तिपुरसित भने, ‘स्थानीय तहसागको समन्वयमा कतिपय स्थानमा न्यानो वितरण पनि भएको छ, प्रदेश सरकारसँग पनि कम्बल मागेका छौं, अहिलेसम्म आएको छैन ।’

When the cold wave is about to end, the local government says: It is ready to distribute warm clothesराष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, सिरहामा एक लाख ४९ हजार घर परिवारमध्ये करिब २६ प्रतिशत घर परिवार गरिबीको रेखामुनि छन् । कुनै पनि विपद्का बेला सबैभन्दा बढी मारमा ती विपन्न नागरिक नै पर्छन् ।  राज्य र राज्यका संयन्त्रको गैरजिम्मेवार रबैयाले गरिब नागरिकले विपद्का बेला थप पीडा झेल्नुपरेको मिर्चैयाका बुद्धिजीवी एवं पूर्वशिक्षक विष्णुप्रसाद यादव बताउँछन् । ‘राज्य कमजोर नागरिकको अभिभावक हुनुपर्छ, तर राज्य हाँक्नेहरु नागरिकलाई प्राथमिकतामा नै राखेनन्,’ उनले कान्तिपुरसित भने, ‘माघसँगै अब जाडो कम हुँदै जान्छ, तर अहिलेसम्म गरिब नागरिकलाई राज्यले न्यानो राहत दिन सकेको छैन, यो निकै लज्जास्पद कुरा हो ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully