काठमाडौँ — आज सुप्रिम सहकारी ठगीको थप अभियोजन जिल्ला अदालतमा दर्ता, हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमादेखि इजरायल र हमासबीच युद्धविरामको सहमतिलगायतका समाचार चर्चामा रहे ।
000
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ । पूरक अभियोजन समय अभावका कारण शुक्रबार दर्ता हुने भएको हो ।
000
संसदीय दल केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीबाट मन्त्री बनेकाहरूलाई ५ दिन मन्त्रालयको काम गर्न बाँकी २ दिन जनताको गुनासो सुन्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई दिन पार्टीका नेता/कार्यकर्ताहरूसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न निर्देशन दिएको हो ।
000
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
000
इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविरामको सहमति भएको छ । दुई पक्षबीचको मध्यस्थकर्ताहरू कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो ।
000
बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए । चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको चिकित्सकले बताएका छन् । जसमध्ये २ वटा गहिरा चोटसमेत छन् ।
000
टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् ।
