नेविसंघले रजिस्ट्रार र रेक्टरलाई बर्खास्त गर्न धम्की दिएपछि कार्यालय आएनन् त्रिविका उपकूलपति

माघ ३, २०८१

कान्तिपुर संवाददाता

The Vice-Chancellor of Triva did not come to the office after the union threatened to fire the registrar and the rector.

काठमाडौँ — सत्तारुढ कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राध्यापक केशरजंग बराललाई कार्यालय आउन अवरोध गरेको छ । आफ्ना मान्छेलाई  त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा प्रमुख नियुक्त नगरिएपछि नेविसंघले त्रिविका उपकूलपति, रजिस्ट्रार र रेक्टरको विरोध गरेको हो । 

नेविसंघको अवरोधपछि उपकूलपति बराल बिहीबार कार्यालय आएका छैनन् । रजिस्ट्रार प्राध्यापक केदार रिजाल र रेक्टर प्राध्यापक खड्ग केसीलाई समेत बर्खास्त गर्न उपकूलपतिलाई चेतावनी दिएपछि उपकूलपति बराल सुरक्षाको कारण देखाउँदै कार्यालय नआएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले जानकारी दिए । नेविंसघ त्रिविका सभापति विष्णु बडैलाको समूहले शंकरदेव र सानोठिमी क्याम्पसमा आफूले भनेका मान्छे प्रमुख हुनुपर्ने भन्दै उपकूलपतिलाई धम्क्याएको पनि त्रिविका एक कर्मचारी बताउँछन् ।

त्यस्तै स्नातक र स्नातकोत्तर तहमा भर्ना रोकिएको भन्दै नेविसंघले विरोध गरे पनि विद्यार्थीको मागसँगै भर्ना अवधि बढाएको त्रिविले जनाएको छ । नेविसंघले त्रिवि उपकूलपतिको कार्यालयको ढोकामा केही कागजसमेत टाँसेको छ । जसमा रेक्टर रजिस्ट्रारलाई बर्खास्तीको माग गरिएको छ । साथै केही मर्यादाहीन तरिकाका टिप्पणीसमेत ती पर्चामा गरिएको छ । विद्यार्थीहरूले यस्तो स्तरहीन टिप्पणी गरेको भन्दै यसको सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ । 

नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले भने बडैलालाई आत्मालोचना गर्न निर्देशन दिएको बताए । यस्ता गतिविधि विद्यार्थीबाट हुनु दु:खद भएको उल्लेख गर्दै उनले तत्काल आत्मालोचना गर्न निर्देशन दिएको बताए । बडैलाले भने आफूहरूले कुनै भाग नमागेको बताउँदै सांकेतिक रूपमा मात्र आफूहरूको विरोध गरेको बताए । उनले क्याम्पस प्रमुख नियुक्तिमा मेरिटोक्रेसी नअपनाइएको बताए । 

कान्तिपुर

Link copied successfully