जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Minister Khadka's instructions to work with people's problems at the center

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बैठकमा उनले ऊर्जा र सिँचाइ क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका थिए । 

मन्त्री खड्काले भने, 'विद्युत्, सिँचाइ, जल मौसमलगायत क्षेत्रमा यस मन्त्रालय प्रत्यक्ष रुपमा जनतासँग जोडिएको छ, जनताले यस मन्त्रालयको कामबाट अनुभूति हुनेगरी तपाईँहरुले काम गर्नुहोस् ।'

मन्त्री खड्काले मुलुकको विकासमा ऊर्जा र सिँचाइ क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले राखेको लक्ष्य प्राप्त हुनेगरी इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताए । उनले अहिले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको र काम गर्ने वातावरण अनुकूल भएकाले निर्धक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले स्रोत सुनिश्चित भइसकेका आयोजना तीव्र गतिमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएका थिए । उनले बाढीपहिरोले क्षति पुर्‍याएका आयोजनाको पुनःनिर्माण गर्नुपर्ने उल्लेख गरेका थिए ।

मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडी मन्त्रालयले राखेको लक्ष्यप्राप्तिमा कमी भएको भन्दै स्रोत सुनिश्चित भएका आयोजनालाई चाँडो अगाडि बढाउनुपर्ने बताइन् । 

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले ऊर्जा क्षेत्रको विकासका लागि एकआपसमा सहकार्य आवश्यक रहेको बताए । उनले आगामी ६ महिनामा सरकारले राखेको लक्ष्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताए । 

बैठकमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखले ६ महिनाको भौतिक र वित्तीय प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully