काठमाडौँ — वन तथा वातावरण मन्त्रालयमा चार वटा ऐन संशोधनका लागि कानुन, न्याय तथा मानवअधिकार समितिसँग छलफल भएको छ ।
बिहीबार मन्त्रालयमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (२०८०) मा प्रस्तावित वन ऐन २०७६, वातावरण संरक्षण ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०७९ र भू तथा जलाधार संरक्षण ऐन २०३९ संशोधन प्रस्ताव र उपयुक्त परिमार्जनसम्बन्धी छलफल भएको हो ।
वन ऐन २०७६ को दफा २६, ४२ र ४५ संशोधन प्रस्ताव गरिएको थियो । छलफलले दफा २६ मा प्रस्ताव गरिएको संशोधन नगर्ने, दफा ४२ मा प्रस्तावित संशोधनलाई मिलाउने र दफा ४५ मा प्रस्ताव भए बमोजिम संशोधन गर्न छलफल भएको हो ।
यसैगरी वातावरण संरक्षण ऐन, २०७६ मा दफा ३, ११, १२, २२ र ४१ मा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा २ र २६ मा संशोधन प्रस्तावमाथि छलफल भएको हो ।
वनमन्त्री ऐनबहादुर शाही ठकुरी, सचिव दीपककुमार खराल र समितिका सदस्यहरू नागिना यादव, महेशकुमार बर्तौला, जीवनकुमार परियार, रन्जुकुमारी झा, सुशीला थिङ र शेरबहादुर कुँवरबीच छलफल भएको हो ।
‘यी ऐनका विषयमा कानुन समितिमा पहिला पनि छलफल भएको थियो,’ सचिव खरालले भने, ‘समिति सदस्यहरूलाई थप स्पष्ट पार्न र सहजीकरण गर्न मन्त्रीज्यूको पहलमा यो छलफल बोलाइएको हो ।’
मन्त्रालयले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि समितिका सदस्यहरूले अध्ययन गरेर स्वीकृत गर्ने जनाएका छन् ।
