वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Court permission to detain senior advocate Tripathi Kutne for seven days

काठमाडौँ — काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद पाएको छ । बुधबार भएको घटनालगत्तै कुट्ने व्यक्ति ललितकुमार केसी पक्राउ परेका हुन् ।

पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ । प्रहरीका अनुसार उनले आफू घरजग्गा कारोबारी रहेको बयानमा बताएका छन् । तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध व्यक्ति हुन् कि होइनन् भन्नेबारे भने प्रहरीले केही सबुत फेला पारिसकेको छैन ।

अनुसन्धानमा स‌ंलग्न एक प्रहरी अधिकारीले थुनामा रहेका केसीले हातपात गर्नुको स्पष्ट कुनै कारण बताएका छैनन् । उनले भने, 'रास्वपासँग उनको सम्बन्ध छ कि छैन भन्ने र उनले किन हातपात गरे भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ ।'

प्रहरीले उक्त घटनामा स‌ंग्लन अरू व्यक्तिको पनि खोजी गरिरहेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा हातपात भएको हो ।

त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसका क्रममा बुधबार प्रतिवादीका तर्फबाट सरकारी वकिलहरुले जवाफी बहस गरेका थिए ।

कान्तिपुर

Link copied successfully