आज देश-दुनियाँमा के-के भयो ?

माघ २, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — आज रवि लामिछाने धरौटीमा रिहा, गोर्खा मिडियामा लगानी गर्न भनी लामिछानेले निवेदन दिएको देखिएको अदालतको भनाइ, सरकारले चाँडै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने तयारीमा विपक्षी दलहरूदेखि गाजामा आक्रमण हुँदा २४ जनाको मृत्युसम्मका खबर चर्चामा रहे । 

000

सहकारी ठगी लगायतका मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयर खरिद गर्न निवेदन दिएको देखिएको जिल्ला अदालत काठमाडौंको आदेशमा उल्लेख छ ।  

000

विपक्षी दलहरूले सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलो गरे विशेष अधिवेशनको माग गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बसेको ६ वटा विपक्षी दलहरूको बैठकले सरकारले नियमित संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याउनुलाई स्वेच्छाचारीको संज्ञा दिएको हो ।

000

राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् । 

000

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ झिकेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिकेको हो । लामो सम देखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तीमा दुई पटक पैसा झिक्दै आएको छ ।

000

इजरायली सुरक्षा बल (आडीएफ) ले गाजा क्षेत्रमा आक्रमण पुन: तीव्र पारेको छ । अल जजिराका अनुसार आडीएफले विस्थापितहरूले आश्रय लिइरहेका विद्यालय तथा गाजा पट्टीका घरहरूमा हवाई आक्रमण गरेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully