गोर्खा मिडियामा लगानी गर्न भनी लामिछानेले निवेदन दिएको देखियो : अदालत

माघ २, २०८१

कान्तिपुर संवाददाता

It was seen that Lamichhane made a request to invest in Gorkha media: the court

काठमाडौँ — गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयर खरिद गर्न निवेदन दिएको देखिएको जिल्ला अदालत काठमाडौंको आदेशमा उल्लेख छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न दिएको आदेशमा लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशक मात्र नभई सेयर खरिद गरिलिएको देखिएको उल्लेख छ ।

'स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिएतापनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रालिमा बिक्रीमा रहेको सेयर मध्ये १,८०,००० सेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रालिको सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो,' आदेशमा भनिएको छ । 

It was seen that Lamichhane made a request to invest in Gorkha media: the court

लामिछानेले उक्त सेयर 'स्वेट सेयर'मार्फत भनी बयान दिएका थिए तर उनले सेयर खरिद गरेको प्रमाण उल्लेख रहेको अदालतले आदेशमा लेखेको छ । 'यी प्रतिवादी रवि लामिछाने आफू गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रालिबाट सेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयर वापत पाएको हुँ । उक्त प्रालिबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यत्तिकै सेयर हस्तान्तरण गरी गएको हुँ' भनेको आदेशमा उल्लेख छ । लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रालिको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको बयान दिएका थिए । 

लामिछानेले भने सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनले सरकारी वकिल र अदालतसमक्ष पनि इन्कारी बयान दिएका थिए । 'प्रतिवादी रवि लामिछानेले अनुसन्धान अधिकारी र यस अदालत समक्षको बयानमा ईन्कार रही बयान गरे तापनि यी प्रतिवादीहरू उपर किटानी जाहेरी दरखास्त रहेको देखिन्छ,' आदेशमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully