काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

माघ २, २०८१

कान्तिपुर संवाददाता

What statement did Ravi give in Kathmandu District Court?

काठमाडौँ — काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेले बयानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा आफ्नो कुनै संग्लनता नरहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘मिसिल संग्लन मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औंठाछाप मेरो हो । तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर बापतको पैसा लगानी गरेको पनि होइन र लिएर गएको पनि होइन ।’

उनले बयानमा गोर्खा मिडिया नेटवर्कका लगानीकर्ता गितेन्द्रबाबु राई भएको बताउँदै लगानीकर्ताको निर्देशनबिना उल्लिखित प्रक्रियाबिना आफूले कम्पनीको चेक जारी गर्न नसक्ने अवस्थाबारे बताएका छन् । बयानमा उनले भनेका छन्,  ‘छविलाल जोशी अधिकांश समय विदेश गएका थिए र गितेन्द्रबाबु राई अत्यन्तै व्यस्त थिए । म मात्र लेखाका कर्मचारीहरुले खोज्दा स्टेशनमा रहेको हुँदा मेरो हस्ताक्षर लिन उनीहरुलाई सहजता थियो,’ बयानमा रविले थपेका छन, ‘आफूमात्रै कार्यालयमा भएका कारण सहजकर्ताका रुपमा मात्रै मैले चेकहरु हस्ताक्षर गरेको हुँ ।’

उनले बयानमा आफ्नो कार्यकालमा गितेन्द्रबाबु राईबाट लगभग २२ करोड ऋण आएको बताउँदै भनेका छन, ‘आफूले लिएको ऋण उनले को को बाट लिए र कहाँ कहाँबाट लिए त्यो मेरो जानकारीको विषय होइन ।’ उनले लेखासम्बन्धी कार्यको पूर्ण नियन्त्रण कार्यकारी अध्यक्ष गितेन्द्रको हुने भएकाले त्यसमा आफूले केही सोच्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्राविधिक रुपमा चेकमा सही गर्न म कहाँ चेकहरु ल्याइने भए पनि कम्पनीका लगानीकर्ताको मात्रै त्यसमा नियन्त्रण थियो ।’

कान्तिपुर

Link copied successfully