पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते

माघ २, २०८१

कान्तिपुर संवाददाता

In five months, 16 people died and 145 were injured in the fire

काठमाडौँ — पछिल्लो पाँच महिनामा देशभर भएका आगलागीका घटनाबाट १६ जनाले ज्यान गुमाएका छन् भने १४५ जना घाइते भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको आगलागीको घटनामा परेर मृत्यु हुनेमा ५ पुरुष र ११ महिला छन् ।

त्यस मध्ये एक जना बालिका हुन् । घाइते हुनेहरूमा भने ७२ जना पुरुष र ७३ जना महिला रहेका छन् । त्यसमध्ये ३ जना बालक र ५ जना बालिका हुन् । २९ जना भने आगलागीबाट विस्थापित भएका छन् ।

यो समयमा देशभरि १ हजार १ सय १६ वटा आगलागीका घटना भएका थिए ।प्रहरीका अनुसार आगलागीबाट ४ सय ५५ वटा पशु चौपायामा क्षति पुगेको छ ।

भौतिक क्षति तर्फ १ सय ९० वटा घर, १ सय ३० गोठ र १ सरकारी कार्यालयमा क्षति पुगेको छ।  आगलागीबाट पाँच महिनामा देशिरी ४९ करोड ९० लाख २८ हजार ३ सय ३० रुपैयाँ आर्थिक क्षति भएको छ  ।

सबैभन्दा धेरै आगलागी कोशी प्रदेशमा

देशभरि भएका १ हजार १ सय १६ वटा आगलागीका घटनामध्ये कोशी प्रदेशमा धेरै आगलागीका घटना छन् । यो पाँच महिनामा कोशीमा ३ सय ३१  र मधेशमा २ सय ६९ वटा आगलागीका घटना भएका छन् ।

वाग्मती प्रदेशभरि २१० वटा आगलागी हुँदा उपत्यकामा मात्र १ सय ४० वटा आगलागीका घटना भएका थिए । यस्तै लुम्बिनी प्रदेशमा १ सय १४, गण्डकी प्रदेशमा ८१, सुदूरपश्चिम प्रदेशमा ६० र कर्णाली प्रदेशमा ५१ घटना घटेका थिए । आगलागी नियन्त्रण र उद्धारमा ८ हजार ३ सय २२ प्रहरी परिचालित भएको प्रहरीको तथ्याङ्कमा छ ।

कान्तिपुर

Link copied successfully