त्रिपाठीमाथि हातपात गर्ने कार्यमा रास्वपाका कुनै सदस्यको संलग्नता भेटिए कारबाही हुन्छ : झा

माघ २, २०८१

कान्तिपुर संवाददाता

Action will be taken if any member of RSVP is found involved in assaulting Tripathi: Jha

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने कार्यमा आफ्नो दलका कुनै सदस्यको संलग्नता भेटिए कारबाही गर्ने जनाएको छ । 

कार्यवाहक प्रवक्ता मनिष झाले अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको घटनाबारे जानकारी पाएको उल्लेख गर्दै रास्वपाको कुनै सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएका हुन् । 'पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,' कार्यवाहक प्रवक्ता झाले निकालेको विज्ञप्तिमा छ, 'यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ ।'

स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि बुधबार हातपात भएको हो । त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगिएको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।

कान्तिपुर

Link copied successfully