काठमाडौँ — सार्वजनिक सेवा प्रसारण संस्थाहरूलाई नियम र कानुनअनुसार संचालन गर्न नसक्दा सत्ता र व्यक्ति विशेषको चाकडी गर्दै विकास हुन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरू संस्थागत रूपमा भन्दा पनि व्यक्ति र सत्ताको इसारामा चल्न लागेको बताएका हुन् ।
सार्वजनिक सेवा प्रसारण (पीएसबी)को मंगलबार पूर्वारम्भ कार्यक्रममा मन्त्री गुरुङले कानुनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकास भएको बताएका थिए । रेडियो नेपालले लगातार ३० वर्षसम्म पञ्चायती व्यवस्थाको ताबेदारी गरेको आरोप पनि उनले लगाएका थिए । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको उनको भनाइ थियो ।
‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वजनिक प्रसारण संस्थाहरूले गरेको हो तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्था यसको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकसित भए,' मन्त्री गुरुङले भने, 'राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरूको चाकडी गर्ने संस्थाका रूपमा विकास भयो । जनतालाई सही सूचना संप्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन । मिथ्या र झूट समाचार प्रसारण गर्यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो ।'
मुलुकमा बहुदल आएपछि रेडियो नेपाललगायत सरकारी संचार संस्थाहरूलाई सुधारको प्रयास भएको मन्त्री गुरुङको भनाइ थियो । 'धेरै उतारचढावको बीचमा हामीले दोस्रो जनआन्दोलनमा आइपुग्दाखेरि रेडियो नेपाल तथा नेपाल टेटिलभिजन जस्ता सार्वजनिक प्रशारण संस्थानलाई योजनाअनुसार चलाउने भनेर सुझाव समिति तथा कार्यदल बने । कार्यदल तथा सुझाव समितिले सरकारलाई सुझाव पनि दियो । त्यसपछि कहिले संविधान निर्माण गर्ने क्रममा, कहिले नाकाबन्दीको सामना तथा भूकम्पको मारमा परेको हुनाले सही दिशा लिन नसकेको स्थिति थियो,' मन्त्री गुरुङले भने ।
सार्वजनिक प्रसारण संस्थाले सहि दिशामा अघि बढ्ने मन्त्री गुरुङको भनाइ थियो । संस्थाहरूले अब उत्कृष्टतामा विश्वास गर्ने बन्नुपर्ने बताए । 'उत्कृष्टतामा विश्वास गर्नु भनेको प्रतिष्पर्धा हो । त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रूपमा सार्वजनिक सेवा प्रसारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ । त्यो भूमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहीँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु,' मन्त्री गुरुङले भने ।
सरकारी प्रसारण संस्थाहरूको सेवा विश्वभर पुग्न नसके पनि नेपाली भूगोलको सबै ठाउँमा पुग्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।
