काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताएकी हुन् ।
शिक्षामन्त्री भट्टराईले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिबद्धता जनाएकी थिइन् ।
‘योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी संकल्प गरौँ, योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापसँग जोडौँ । जसले गर्दा हामीले संस्थागत विद्यालय अर्थात समृद्ध भएका विद्यालय मात्र होइन, सार्वजनिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थी, जसको मनोविज्ञान र मनोबललाई बढाउन पनि योग र ध्यानले प्रश्रय गरोस्,' मन्त्री भट्टराईले भनिन्, 'आउने शैक्षिक सत्रबाट हाम्रा अभ्यास सुरु गर्नुपर्छ । त्यस काममा लाग्नुपर्छ । त्यसप्रति प्रतिबद्ध भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लाग्नेछ ।'
शिक्षा र स्वास्थ्यलाई एकसाथ जोडेर लैजानुपर्ने मन्त्री भट्टराईको भनाइ थियो । 'शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय हो । यो राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय छ । शिक्षा र स्वास्थ्यबीचको तादात्म्यले मात्रै हामीले समृद्ध समाजको निर्माण गर्नसक्छौँ । शिक्षासँग योग नजोडिकन हामीले समाजलाई समृद्ध बनाउन सक्दैनौँ,’ उनले भनिन् ।
