चितवन — कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल तनहुँ देवघाटधाममा माघे संक्रान्तिका दिन मकरस्नान गर्नेहरूको ठूलो घुइँचो लाग्दछ । मंगलबार मकर स्नानका लागि बिहान सबेरैदेखि भक्तहरू देवघाट आइपुगे ।
बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का राजकुमारप्रसाद साहले बिहान चार नबज्दै नदी संगममा डुबुल्की लगाइ सकेका थिए । परिवारका पाँच जना सदस्यसहित उनी स्नानका लागि मध्यरातमा घरबाट निस्केका थिए ।
नुवाकोट देवीघाटका भरतप्रसाद दाहालले पनि पाँच बजेअघि नै स्नान गरिसकेका थिए । गाउँ टोलका ४३ जना मिलेर नुवाकोटबाट मकर स्नानका लागि देवघाट आएको भरतप्रसादको भनाइ छ । मुक्तिनाथबाट बग्दै आएको कालीगण्डकी नदी र गोसाइकुण्डबाट बग्दै आएको त्रिशूली देवघाटमा मिलेका छन् । त्यसपछि उक्त नदीको नाम नारायणी हुन्छ । हिन्दुहरू त्रिशूली र कालीगण्डकी नदीलाई पवित्र मान्दछन् ।
यी दुई नदीको संगमस्थलमा मकरस्नान गर्न देवताहरू पनि आउने धार्मिक विश्वास छ । ‘त्यसैले बिहान सबेरै नुहाउन सुरु हुन्छ । भक्तहरूको भिडभाड त दिनभर हुन्छ,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले भने । चितवन र आसपासका जिल्लाबाट मात्रै नभई देवघाटमा मकरस्नानका लागि देशभरबाट भक्तहरू आउने उनले बताए । सीमावर्ती भारतीय क्षेत्रबाट पनि स्नानका लागि आउँछन् ।
संक्रान्तिको अघिल्लो दिन दुई नदीको संगमस्थलमा विधिवत् रूपमा लिङ्गो गाडेपछि मकर स्नान सुरु भएको मानिन्छ । देवघाटमा परापूर्वकालदेखि नै मकर स्नान हुँदै आएको हो । पुराणहरूमा देवघाट धामलाई तीर्थहरूको पनि तीर्थ भनिएको अध्यक्ष रानाले बताए । त्यसैले यहाँ मकरस्नान लागि हरेक वर्ष लाखौँ भक्तजन आउने गर्दछन् । यो पटक पाँच लाख भक्तहरू देवघाट आउने अध्यक्ष रानाको आकलन छ ।
