काठमाडौँ — छिन्नभिन्न भएर धेरै दलमा विभाजित मधेस केन्द्रित दलहरू पुनः एकपटक मोर्चाबन्दीको प्रयासमा जुटेका छन् । माघे संक्रान्तिको अवसर पारेर उनीहरू धेरैपछि औपचारिक वार्तामा जुटेका छन् । तिलको लड्डु र खिचडी खाँदै उनीहरूले भावी सहकार्यको बाटो खोज्ने प्रयास गरेका हुन् । सबै पार्टीबाट गठित वार्ता समितिबीचको पहिलो साझा बैठक मंगलबार बसेको हो ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले त्यसको समन्वय गरेका थिए । धुम्बाराईमा रहेको समर्पण एकेडेमी हलमा मधेस केन्द्रित पाँच पार्टीबाट वार्ता समितिमा रहेका नेताहरू खिचडी खान जम्मा भएका थिए । त्यसबाहेक स्वतन्त्र सांसद अमेरशकुमार सिंहको पनि त्यहाँ उपस्थिति थियो ।
बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेन्द्र झा र मनीष मिश्र, सीके राउत नेतृत्वको जनमत पार्टीबाट डा.शरदसिंह यादव, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चाबाट केशव झा र अनिल महासेठको उपस्थिति थियो । त्यस्तै, बैठकको संयोजन गरेको जनता प्रगतिशील पार्टीबाट अध्यक्ष त्रिपाठी, नेताहरू ईश्वरदयाल मिश्र, साविर हुसैन लगायतका नेताहरू सहभागी थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट भने कोही उपस्थित थिएन । उक्त पार्टीले उपाध्यक्ष राजकिशोर यादव, रामकुमार शर्मा र मनीष सुमन रहेको कार्यदल बनाएको छ । तर, कार्यदलबाट कसैको प्रतिनिधित्व थिएन ।
‘चाडबाडको दिन रहेकाले वार्ता समितिमा रहेका सबै नेताहरूको उपस्थिति हुन नसकेको मैले बुझेको छु,’ त्रिपाठीले भने, ‘आज पहिलो बैठक भएको हो । सबैको स्प्रिट राम्रो आएको छ ।’ उनले पार्टी एकीकरण वा मोर्चा नभइकन मुद्दागत रूपमा सहकार्य गर्न सबै पार्टीबीच ‘लुज एलाइन्स’ गरेर जाने कुरा भइरहेको बताए । ‘उपेन्द्रजीको पार्टीबाट गठित कार्यदलका सदस्यहरू काठमाडौं बाहिर रहेका कारण उहाँहरूको उपस्थिति हुन नसकेको मैले थाहा पाएको छु,’ उनले भने, ‘अन्य पार्टीबाट पनि कार्यदलमा रहेका सबै सदस्यहरूको उपस्थिति भएको थिएन । पहिलो बैठक गरिहालौं भन्ने कुरा भएर अलि छोटो सूचना पनि भएको हुन सक्छ ।’
अर्को बैठकबाट सहकार्य कसरी गरेर जाने, मोडालिटी के हुने लगायतका विषयमा छलफलमा जुट्ने सल्लाह भएको उनले बताए । संविधानबाट प्राप्त उपलब्धि पनि गुम्न सक्ने सम्भावित खतरालाई हेर्दै सबै दल र नेताहरूले सहकार्यको आवश्यकता महसुस गरेको आफूले पाएको उनले उल्लेख गरे ।
पहिलो चरणमा मधेस केन्द्रित दलहरूबीच सहकार्य गरिसकेपछि यसलाई थप विस्तार गर्दै अन्य पहिचानवादी आदिवासी जनजाति, उत्पीडित दलित केन्द्रित दल र शक्तिहरूसँग सहकार्यको प्रयास गरिने उनले जनाए ।
