जब माधव नेपाल निगमको जहाजमा ९ घन्टा थुनिए...

‘जहाज नै नउडेपछि यात्रुहरू आक्रोशित बने । म अगाडि थिएँ । आक्रोशितहरू मकहाँ नै आइपुगे । त्यत्रो बेरसम्म जहाजभित्र यात्रुलाई शान्त पार्ने प्रयास कसैबाट पनि भएन ।’ -पूर्वप्रधानमन्त्री नेपाल

पुस २९, २०८१

सुरज कुँवर

When Madhav was detained for 9 hours on the ship of Nepal Corporation...

काठमाडौँ — व्यवस्थापकीय लापर्बाहीका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका उडान रद्द भएका, यात्रु छुटेको कुरा नौलो होइन । उडान तालिका प्रभावित हुने, समयतालिका पालना नहुने, जहाज मर्मतमा ढिलाइ, यात्रुलाई आधारभूत सेवासुविधा दिलाउन नसक्नु जस्ता समस्या हिजोआज निगमका लागि कुनै नौला विषय नै रहेनन् । निगमको सेवामा असन्तुष्ट आम नागरिक तथा विदेशी पर्यटकहरूका गुनासाबीच पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निगमको उडानमा ९ घन्टा थुनिनु परेको घटना सार्वजनिक भएको छ । 

गत बिहीबार सिंहदबारमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा निगमका समस्याबारे छलफल हुँदै थियो । बैठक सुरु हुनेबित्तिकै पहिलो वक्ताका रूपमा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले काठमाडौं–दिल्ली–काठमाडौं रुटमा निगमको जहाज चढ्ने निर्णय लिएकोमा थकथकी व्यक्त गर्दै निगमको व्यवस्थापकीय लापर्बाहीको कथा सुरु गरे । ‘दिल्ली जानुपर्ने भयो’,पूर्वप्रधानमन्त्री नेपालले भने,‘केमा जाने भन्दा निगमकै उडानमा जाऔं न त भनेर टिकट लिएँ । काठमाडौंबाट जाँदा २/३ घण्टा कुर्नुपरेको थियो । तर दिल्लीमा हरिबिजोगै भयो ।’

यो घटना असोज ८ गतेको हो । दिल्लीबाट फर्किने टिकट पनि निगमकै थियो । उनले जहाज चढ्नुअघि त्यहाँ पनि ढिलो भएको बताउँदै जहाजभित्र पसेपछि २ घण्टा अलमलमा परेको बताए । ‘जहाज नै नउडेपछि यात्रुहरू आक्रोशित बने । म अगाडि थिएँ । आक्रोशितहरू मकहाँ नै आइपुगे । त्यत्रो बेरसम्म जहाजभित्र यात्रुलाई शान्त पार्ने प्रयास कसैबाट पनि भएन ।’

नेपाल वायुसेवा निगमका बेथितिबारे छलफल गर्न सिंहदरबारमा डाकिएको दोस्रो दिनको बैठकमा उनले दिल्ली यात्राको अल्झनबारे पहिलोपटक बेलिबिस्तार गर्दै थिए । त्यहाँ थिए निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी । उनी निगमको उडान सञ्चालन गर्ने अपरेसन विभागका निर्देशक क्याप्टेन दिपुराज ज्वारचन, क्वालिटी एसुरेन्स विभागका निर्देशक इन्जिनियर पोषक ज्ञवालीलगायतका निर्देशकहरूका साथ बैठकमा उपस्थित थिए । यात्रुहरूको आक्रोशको सीमाको उचाइ बढ्दै गएपछि नेता नेपालले ककपिटमा रहेका पाइलटलाई बोलाएछन् । ‘त्यहाँ आक्रोशित यात्रुले पाइलट बस्ने ककपिटको ढोका नै तोड्लान जस्तो गरेपछि मैले नै के भएको हो भनेर बुझ्न पाइलटलाई बोलाएँ,’ नेपालले भने । 

पाइलटले उडान नहुनुको कारण एउटा इन्जिनमा समस्या देखिएको भनेछन् । ‘कुरा के हो भन्दा पाइलटले एउटा इन्जिनमा समस्या छ । एउटामात्रै ठीक छ तर जोखिमपूर्ण छैन । एउटा इन्जिन बनेको छैन, बिग्रेको छ भने । यो कस्तो कुरा हो ? ल्याउँदाखेरी नै दुइटा इन्जिनमध्ये एउटा बिग्रेको ?,’ उनले भने ।  पूर्वप्रधानमन्त्री नेपालले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई प्रश्न गरे । यतिमै नेपालले आफ्नो दिल्लीको अनुभव टुंग्याएनन् । दिल्लीबाट जहाज कसरी उड्यो भन्ने अर्को कथा पनि सार्वजनिक गरे । ‘त्यो दिन यात्रुहरू अब हामी यो जहाजमा जाँदै जाँदैनौँ, तपाईं लिड गर्नुहोस् । अघि बढ्नुहोस् हामी तपाईंको पछिपछि लागेर बाहिरिन्छौँ भन्न थाले । न त उनीहरूलाई त्यहाँ शान्त पार्ने काम भयो, धन्न त्यसबेला कसो समाचारमा आएन !,’उनले भने । 

केही समयपछि दिल्लीमा जहाज मर्मत गर्ने जिम्मा लिएको एमआरओका प्राविधिकले इन्जिनको निरीक्षण गरे । इन्जिनको जाँचपड्तालपछि प्राविधिकले वाइडबडी उड्न सक्ने अनुमति जारी गरे । त्यति हुँदासम्म पनि यात्रु शान्त नभएको नेता नेपालले बताए । ‘भारतीय इन्जिनियरले ‘अब कोही बात नही, उड सकता है,’ भने । तर यात्रु कन्भिन्स भएनन् । मैले सबैले सुन्नेगरी बोल्नुहोस् भनेपछि ती इन्जिनियरले ‘मैं अथोरीटीका साथ कहता हुँ । यह विमान उड सकता है । जा सकता है,’ भनेपछि बल्ल जहाजभित्र मानिसहरू शान्त भए,’ नेपालले भने । 

नेता नेपालले त्यसबेला आफू यात्रुसामू निरीह बनेको स्विकारे । ‘न आफ्नो सरकार छ । न आफ्नो कोही छ । केहीले मैसँग झगडा गरे । यता मेरो विरोधी सरकार छ । यस्तो स्थिति मैले भोगेँ । नौ घण्टापछि जहाज उड्यो,’ उनले भने ।  उनले बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अन्तिममा सोधे, ‘यो विषयलाई गम्भीरतापूर्वक लिइयो कि लिइएन । छलफल भयो कि भएन ?’ उनको प्रश्नमा निगमका कार्यकारी अध्यक्ष अधिकारी झनै निरीह देखिए ।

आफ्नो भनाइ टुंग्याउनुअघि नेता नेपालले त्यसदिन यात्रुहरूले जहाजको ढोका तोड्छु भनेको बताउँदै अन्तिममा भने,‘यदि जहाजको ढोका खोलेर म अघि लागेर सबै यात्रुलाई निकालेको भए माधव नेपालले सारा यात्रुलाई भड्काए भनेर समाचारमा आउँथ्यो । निगमलाई घाटा पार्‍यो भन्ने गाल पर्थ्यो । त्यसैले निगम ठीक ढंगले चल्नु पर्‍यो । मेरा कुरा यत्ति हो ।’  

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully