नेविसंघको विधान संशोधन मस्यौदा तयार

केन्द्रीय समिति १३५ सदस्यीय र पदाधिकारी २९ जना बनाउन प्रस्ताव

पुस २९, २०८१

कान्तिपुर संवाददाता

The draft amendment to the Constitution of the United Nations is prepared

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विधान संशोधन मस्यौदा तयार गरेको छ । संघको विधान मस्यौदा समितिले संशोधित विधानको मस्यौदा तयार गरी केन्द्रीय समितिलाई बुझाएको हो ।

मुलुकको संघीय ढाँचाबमोजिम संघको परिमार्जित विधानको मस्यौदा तयार भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । उनका अनुसार विधान संशोधन एवम् परिमार्जनका लागि गत २७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

हाल महाधिवेशन गर्नका लागि गठित तदर्थ समिति ७०० सदस्यीय छ । तर अहिले तयार भएको मस्यौदामा केन्द्रीय समिति १३५ सदस्यमा सीमित गर्न प्रस्ताव गरिएको छ । जसमा २९ जना पदाधिकारी हुनेछन् भने कोषाध्यक्षबाहेकका पदमा निर्वाचन हुनेछ ।

अध्यक्ष शेर्पाले उक्त मस्यौदालाई केन्द्रीय समिति बैठकमा पेस गरी छलफल गरिने र पारित हुने बताए । त्यसपछि पार्टीले अनुमोदन गरेपछि उक्त विधान लागू हुनेछ । 

विधान संशोधन र परिमार्जनका लागि गठित कार्यदलमा केन्द्रीय सदस्यहरू विवेक लिम्बू, राजेश कुमार श्रेष्ठ, सुनील शाही र मन्जु विश्वकर्मा सदस्य थिए ।

कान्तिपुर

Link copied successfully