काठमाडौँ — आज रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा, इमाडोलको एउटै गोदामबाट ८६ हजार थान भेप बरामददेखि क्यालिफोर्निया लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो सम्मका खबर चर्चामा रहे ।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो । काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो ।
000
राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट(भेप) ठूलो मात्रामा बरामद गरेको छ । विभाग स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ । चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएको थियो ।
000
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्ति रद्द गर्ने विषय कानुनसम्मत नहुने जवाफ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई दिएका छन् । मन्त्रालयले पुस २२ मा सोधेको स्पष्टीकरणको आइतबार जवाफ दिँदै घिसिङले आफ्नो नियुक्ति रद्द कानुनसम्मत नहुने भनेका छन् ।
000
बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ४० अर्ब रुपैयाँ झिकेको छ । धिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिकेको हो ।
000
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । हालसम्म ३८ हजार एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । अधिकारीहरुका अनुसार डढेलोले १२ हजारभन्दा बढी घर तथा अन्य संरचना जलिसकेको छ ।
