साँच्चिकै अर्थतन्त्र समस्यामा छ : सञ्चारमन्त्री गुरुङ

पुस २८, २०८१

आश गुरुङ

The economy is really in trouble: Communications Minister Gurung

लमजुङ — सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । उनले अर्थतन्त्र सुधार्न सरकार अध्यादेश ल्याउन बाध्य भएको दाबी गरे । 

लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरा मोर्ङीस्थित त्रिभुवन माविको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको अवस्था सहज नरहेको बताए ।

‘साँच्चिकै अर्थतन्त्र समस्यामा छ । म अर्थमन्त्रीसँग नजिक बसेर कुरा गरिरहेको छु । अर्थतन्त्र सुधार्ने प्रयास गरिए पनि सुध्रिएको छैन,’ उनले भने । उनले कहींकतै रोजगारी सिर्जना नभएको, विदेशबाट निर्यात सामग्री ल्याउने परिस्थिति नबनेको, विदेशी मुद्राको सञ्चितिले ढुकुटी भरिए पनि विदेशबाट निर्यात सामग्री नआउने अवस्थामा खर्च हुन नसकेको बताए ।

‘बैंकमा पैसा छ, ऋण लिन कोही जाँदैन । उद्योग चल्न सकेको छैन । यो परिस्थितिको अन्त्य गर्नुपर्ने छ । सबै समस्याको समाधान गर्नुपर्नेछ । त्यसैले अध्यादेश ल्याउन बाध्य भएका हौं,’ उनले भने । 

उनले ३ वर्षमा सक्ने काम १३ वर्ष लाग्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताए । ‘मान्छेले भनिरहेका छन्, संसद् खुलाउने कुरा छैन । अध्यादेश ल्याइराख्या छ । संसद्मा लग्यो भने अहिलेको ढंगबाट यो कानुन पास गर्न ५ वर्ष लाग्छ । त्यतिबेलासम्म हाम्रो धेरै कुरा बितिसकेको हुन्छ । अब फास्ट ट्र्याकमा जाने हो भनेदेखि १ वर्षमा हुन्छ,’ उनले भने ।

उनले अध्यादेश आजको आवश्यकता रहेको भन्दै सुशासन कायम गर्न, जनताका आवश्यकता पूरा गर्न, विकासको गति बढाउन, समग्रमा अर्थतन्त्र सुधार्न अध्यादेश ल्याएको प्रस्ट्याए । ‘पुँजीगत खर्च बढाएर, व्यापार बढाएर, अर्थतन्त्रलाई सुधार गर्ने हो, रोजगारी सिर्जना गर्ने हो, गरिबी अन्त्य गर्ने हो,’ उनले भने ।

अर्को प्रसंगमा उनले हरेक विद्यालयमा सूचना प्रविधि (आइटी) शिक्षक नियुक्त गर्नुपर्ने र सोही अनुसारको अध्ययन अध्यापन गर्न आवश्यक रहेको बताए । उनले नेपालका घरघरमा इन्टरनेटको पहुँच पुर्‍याउने कार्यको थालनी भएको र सबै मानवबस्तीमा फोरजी सेवा पुर्‍याइने बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully