काठमाडौंमा रवि लामिछानेको बयान : ‘मैले कसैलाई ठगी गरेको छैन’

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Ravi Lamichhane's statement in Kathmandu: ”I have not cheated anyone”

काठमाडौँ — संगठित रूपमा ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आइतबार दिनभरि बयान लिएपछि अन्त्यमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको रोहमा उनलाई सोधिएको थियो– अरू केही भन्नु छ ?

जवाफमा लामिछानेले संक्षिप्त उत्तर दिए– ‘मैले कसैलाई ठगी गरेको छैन, निर्दोष छु, सफाइ पाऊँ ।’

स्वर्णलक्ष्मी सहकारीको १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७ रुपैयाँ संगठित रूपमा अपचलन गरेको भन्दै लामिछानेलगायत ३९ विरुद्ध जिल्ला अदालत काठमाडौंमा गत पुस २१ गते मुद्दा दायर भएको थियो । बयानका क्रममा उक्त अभियोगपत्र उनलाई पढेर सुनाइएको थियो । र, त्यस लगत्तै सोधिएको थियो, ‘सो जाहेरी व्यहोरा के कसो  हो ? खुलाइदिनुहोस् ?’

जवाफमा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधले मुद्दा दायर गरेको भन्दै आफूविरुद्ध झूटा अभियोग लगाएको बताएका थिए । 

जिल्ला अदालतका न्यायाधीश अधिकारीको एकल इजलासले बयान लिएर लामिछानेलाई आइतबार नै न्यायिक हिरासतमा पठाउने आदेश गरेको छ । 

कास्की जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर हिरासतमुक्त भएको तेस्रो दिन आइतबार बिहान सवा ९ बजे लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

बयान सकिएपछि उनका कानुन व्यवसायीले थुनछेक बहस पनि आइतबारै सुरु गर्न आग्रह गरेका थिए । थुनछेकको बहस आइतबार नसकिए सोमबार आफैं उपस्थित हुने गरी लामिछानेलाई आफ्नो जिम्मा लगाउनुपर्ने उनीहरूको माग थियो । तर न्यायाधीश अधिकारीले समय अभाव भएकाले सुनुवाइ सोमबारबाट गर्ने गरी न्यायिक हिरासतमा राख्ने आदेश गरेका थिए । न्यायाधीश अधिकारीको उपस्थितिमा बिहान १० बजे सुरु भएको बयान सकिँदा अपराह्न पौने ५ बजेको थियो । 

बयान लिएपछि न्यायाधीश अधिकारीले सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गरेको स्रेस्तेदार रामु शर्माले बताए । ‘आइतबार बयान सकिएको छ,’ उनले भने, ‘अब उहाँको मुद्दामा सोमबारदेखि नियमित सुनुवाइ हुनेछ ।’ 

जिल्ला अदालतको आदेशअनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ ।

कान्तिपुर

Link copied successfully