मन्त्रिपरिषद्‌बाट तीन अध्यादेश पारित

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Three ordinances passed by the Council of Ministers

काठमाडौँ — मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले तीन अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । केही नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अध्यादेश सिफारिस भएको जानकारी दिएका छन् । 'हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ,' प्रधानमन्त्रीले लेखेका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार केही नेपाल ऐन संशोधनसहित तीन अध्यादेश मन्त्रिपरिषद्बाट पारित भएका हुन् । जसमा गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति र तिनको परिवारको सदस्यले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने लगायतका कानुनी व्यवस्था गर्न अध्यादेश ल्याइएको छ ।

सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्था गर्न, श्रमिकको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाउन, नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै कुनै निर्णय गर्नु पर्ने अधिकारीले कानुनमा नै मिति तोकिएको भए सोही बमोजिम र अन्य सबै अवस्थामा बढीमामा ७ दिनभित्र निर्णय गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ । 

कान्तिपुर

Link copied successfully