एक पटक प्रमुख पदमा पुगेका व्यक्तिलाई बोकेर कुनै एकता हुँदैन : महासचिव पोखरेल

पुस २७, २०८१

दुर्गालाल केसी

There is no unity in carrying a person once in a prominent position: General Secretary Pokharel

दाङ — एमाले महासचिव शंकर पोखरेलले एक पटक पार्टी र देशको प्रमुख पदमा बसेका व्यक्तिसँग एकता गर्न नसकिने बताएका छन् ।

नेपाल बुद्धिजिवी परिषद् र प्रगतिशील प्राध्यापक संगठनले शनिबार बिहान घोराहीमा आयोजना गरेको अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक पटक कार्यकारी पदमा बसेर हालीमुहाली गरेका व्यक्तिलाई बोकेर कुनै एकता गर्न नहुने धारणा व्यक्त गरेका हुन् ।

माधव कुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बामदेव गौतम जस्ता पार्टी र मुलुकको कार्यकारी भूमिकामा रहेर काम गरेका व्यक्तिलाई बोकेर पार्टी एकता गर्न नसकिने विचार उनले व्यक्त गरे । एक पटक प्रमुख पदमा बसेका व्यक्ति वरिष्ठ नेतालगायतका कुनै पद सिर्जना गरेर पार्टीमा बस्दा संगठन बलियो हुन नसक्ने अनुभव भएकाले त्यस्तो एकता फलदायी नहुने उनले बताए । यो कुरा केपी शर्मा ओलीमा समेत लागू हुने धारणा राख्दै पोखरेलले अध्यक्षबाट बाहिरिएपछि ओली कुनै भूमिकामा पार्टीमा रहनु उचित नहुने बताए । एक पटक कार्यकारी भूमिकामा रहेको व्यक्ति दोस्रो या अन्य भूमिकामा बस्दा पार्टीमा कुनै न कुनै समस्या सिर्जना गर्ने विगतको अनुभव भएकाले अब त्यस्तै गल्ती दोहोर्‍याउन नसकिने उनले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully