साङ्लोको बन्धनबाट मुक्त इमानसिंहको जीवन

३१ वर्षसम्म साङ्लोमा बाँधिएका इमानसिंह गुरुङ उद्धारपछि ४ वर्षसम्मको उपचार र स्याहारले शारीरिक र मानसिक रूपमा तन्दुरुस्त भएका छन्

पुस २७, २०८१

आश गुरुङ

The life of Imansingh freed from the shackles of chains

लमजुङ — आफन्तले बोलाएपछि १८ वर्षको छँदा इमानसिंह गुरुङ लाहुरे हुन भारत गए । दुई महिनाको तालिम लिए । भारतीय सेनामा भर्ती खुल्यो, प्रतिस्पर्धा गरे । तर फेल भए, भर्ती हुन सकेनन् । बुबाआमालाई खुसी बनाउन लाहुरे बन्न हिँडेका उनी विक्षिप्त भएर दोर्दी गाउँपालिका–८ हिलेटक्सार माझगाउँस्थित घर आइपुगे ।

कसले घरसम्म पुर्‍याइदियो, न उनलाई थाहा छ न त परिवारलाई । मानसिक रूपमा विक्षिप्त बनेका उनलाई गाउँलेले ‘गिज्याउन’ थाले । धामीझाँक्री लगाएपछि ठीक होलाजस्तो भयो तर केही दिनमै फेरि उस्तै । उपचारका लागि परिवारले काठमाडौंका अस्पतालदेखि भारतको राँचीसम्म पुर्‍याए तर ठीक भएन ।

उनको अस्वाभाविक व्यवहार बढ्दै गएपछि परिवारले ‘समस्या’ महसुस गर्‍यो । समाजको दबाबमा उनी फलामे साङ्लोमा बाँधिन पुगे । बाख्राको खोरसँगै रहेको घरको खुला खोपीमा उनको दिनरात सुरु भयो । करिब ३१ वर्ष साङ्लोमा बाँधिएका उनको दिसापिसाब परिवारका सदस्यले सोहोर्थे । गाईभैंसी बाँध्नेजस्तो किला राखेर उनको दायाँ हात फलामे साङ्लोमा बाँधिएको थियो ।  

त्यही साङ्लोबाट छुट्याएर ४ वर्षअघि मानव सेवा आश्रम बेंसीसहरले उनलाई उद्धार गरेर लग्यो । आश्रममा स्याहार र उपचारपछि उनमा धेरै सकारात्मक परिवर्तन आयो । आश्रमबाट केही दिनअघि मात्र घर फर्किएका छन् ५३ वर्षीय इमानसिंह गुरुङ ।  

The life of Imansingh freed from the shackles of chains

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आफैं इमानसिंह बनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्तुत गरेको इमानसिंहको कथाको भिडियो निकै चर्चित भएको थियो । एक टयाब्लेट औषधि खुवाए मानसिक रोग ठीक हुने चेतना र शिक्षाको अभावमा देशभर कयौं ‘इमानसिंहहरू’ सिक्रीमा कैद भइरहेको अवस्थाबारे उनको प्रस्तुति थियो । इमानसिंह बनेको गजुरेलको उक्त भिडियो युट्युबमा भेटिन्छ । 

गजुरेलले ‘खुसीको खबर’ भन्दै इमानसिंहको पारिवारिक मिलनको फोटोसहित फेसबुकमा लेखेका छन्, ‘लमजुङका इमानसिंह गुरुङ मानसिक रूपमा अस्वस्थ थिए । ३१ वर्षसम्म साङ्लोमा बाँधिएर बस्नुपर्‍यो । कारण गरिबी र अशिक्षा थियो । इमान दाइको कथालाई मैले केहीअघि प्रस्तुत गरेको थिएँ । इमान दाइ र मैले त्यो भिडियो सँगै बसेर पनि हेरेका थियौं । त्यसबेला उहाँले भन्नुभएको थियो, म चाँडै घर फर्कन्छु ।’ 

गजुरेलले थप लेखेका छन्, ‘चार वर्षअघि मानव सेवा आश्रम लमजुङले उद्धार गरेका इमान दाइलाई ठीक पारेर फेरि परिवारसँग पुनर्मिलन गराएको छ । मानव सेवा आश्रम र यसका अभियन्तालाई धेरैधेरै धन्यवाद । इमान दाइलाई बधाई । परिवारलाई शुभकामना । प्रत्यक्ष/अप्रत्यक्ष सहयोगी सुन्दर मनहरूलाई नमन ।’ 

इमानसिंह २०२८ मा जन्मिएका हुन् । उपचार सम्भव नभएपछि आफ्नै समीपमा रहेर अनुहार हेर्ने भनी परिवारले साङ्लोले बाँधेर राखेको उनका दाजु वेणीराम गुरुङ बताउँछन् । साङ्लोले बाँधिराखेकै अवस्थामा इमानसिंहलाई २०७७ मंसिर १८ मा उद्धार गरेर ल्याएको मानव सेवा आश्रम लमजुङका तत्कालीन संयोजक (हाल गण्डकी प्रदेश प्रमुख) अनिता अधिकारीले बताइन् । 

‘समाजको तिरस्कार, अशिक्षा र गरिबीका साथै उपचार अभावका कारण इमानसिंह दाइ विक्षिप्त बन्नुभएको रहेछ । चार वर्ष राख्यौं, माया–ममतासहित पारिवारिक वातावरण दियौं, औषधि उपचार गरायौं,’ उनले भनिन्, ‘हरेक हिसाबले तन्दुरुस्त भएपछि पारिवारिक मिलन गरायौं ।’ इमानसिंहलाई नियमित औषधि खुवाउन र हेरचाहमा ख्याल राख्न भनिएको अधिकारीले बताइन् ।

आश्रमले पुस १९ मा हिलेटक्सार माझगाउँको घरमै पुगेर जेठो दाइ वेणीराम र भाउजू डबलकुमारी गुरुङको जिम्मा लगाइएको छ । उनीहरूका ४ दाजुभाइमध्ये इमानसिंह कान्छो हुन् । माइला गाउँमै र साइँला बेंसीमा बस्छन् । उनीहरूका ६ दिदीबहिनी सबै विवाहित छन् । 

मानसिक रूपमा विक्षिप्त, कसैसँग नबोल्ने, रिसाउने, आक्रमण गर्नेजस्ता क्रियाकलाप गर्ने इमानसिंह अहिले राम्रोसँग बोल्छन् र घुलमिल हुन्छन् । कहिलेकाहीं गीत गुनगुनाउने र ठट्टा पनि गर्छन् । आफूलाई साङ्लोले बाँधेर राखेका यादहरू आइसकेको छ । तर, त्यसरी कति वर्ष बिताएँ भन्ने यकिन भने छैन । भन्छन्, ‘त्यस्तै २–४ वर्ष होला ।’ उनी कहिलेकाहीं भने एकोहोरो हेर्छन्, टोलाउँछन् । 

‘सम्हाल्न नसकेर फलामे साङ्लोले बाँधेर राखिएको मान्छे, आज दाइ–भाउजू भन्दै बोल्दा खुसी लागेको छ,’ वेणीरामले भने । इमानसिंहकी भाउजू डबलकुमारीले घर आएपछि मात्र इमानसिंहले आफ्ना बुबाआमाको निधनबारे जानकारी पाएको बताइन् । ‘घर आएपछि बुबाआमा सोध्नुभयो, हामीले बुबाआमा रहनुभएन भन्यौं । कान्छालाई नमज्जा लागेको छ,’ उनले भनिन् ।  

The life of Imansingh freed from the shackles of chains

 इमानसिंह साङ्लोमा बाँधिरहेकै अवस्थामा १०–१२ वर्षअघि उनका बुबाआमाको २ वर्षको फरकमा निधन भएको थियो । वेणीरामका अनुसार निधन हुनुअघि आमा कान्छाको कुरा गर्थिन् । ‘सबैको जीवनमा दुःख मात्र हुँदैन होला, यसले पनि कुनै दिन सुख पाउला, आमाले भन्नुहुन्थ्यो । कान्छा भाइले नयाँ जीवन पाएको छ, हामी खुसी छौं,’ वेणीरामले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully